16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोइलाबास नाका पुगे सांसद चौधरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७  

शिवु खनाल । दाङ ।

प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मेटमणी चौधरीले स्थानियहरुको समस्या बुझ्न कोइलाबास नाका पुगेका छन् ।

कोरोना कहरका कारण नाका बन्द हुँदा स्थानियलाई सास्ती भएपछि दाङको कोइलाबास नाका पुगेर स्थानियहरुसँग उनले छलफल गरेका थिए । कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि भन्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि सीमा नाका बन्द गरेको थियो ।

सांसद चौधरीसँग स्थानीयहरुले आठ महिनादेखि सीमा नाका बन्द हुँदा समस्या भएको भन्दै नाका खोल्नको लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘स्थानिय रोजगार पूर्णरुपमा ठप्प छ ।

जसले गर्दा न्यून र मध्यमवर्गले धेरै समस्या खेप्नु परेको छ’ गढवा गाउँपालिका वडा नम्बर ८ का खालिक सिद्दिकिले भने, ‘कोइलाबास नाका लामो समयसम्म पूर्णरुपमा शिल हुँदा खबरी, मुसि, लगायतका स्थानियहरुको जन जिवनमा नकारात्मक असर पुगेको छ ।

कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउनुपर्छ ।’ यहाँ नागरीकलाई एक पोका नुन लिन गढवा बजार जानुपर्ने बाध्यता रहेको छ ।

नाका खुल्ला हुँदा नजिकैको भारतीय बजारमा गएर सीमाबासीले दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्ने गर्दथे । यता सांसद चौधरीले उद्योग मन्त्रीसँग समन्वय गरेर मंसिरभित्र नै कोइलाबास नाका खुला गर्ने बताएका थिए ।

‘कोइलाबास भन्सार सुचारु गर्न र नाकालाई थप व्यवस्थित बनाउन उद्योग मन्त्रीसँग समन्वय गरेर मंसिर महिनाको अन्तिमसम्म कोइलाबास नाका खुलाउने योजना बनाएको छु । नाका छिट्टै खुल्छ ।’

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलले दिनहुँ बन्द कोइलाबास नाका खोलिदिन स्थानीयले अनुरोध गर्ने गरेको बताए ।

‘दिनमा ६ देखि ८ जनाले कोइलाबास नाका कहिले खुल्छ, लौन सर नाका खोलीदिन पहल गरिदिनु प¥यो भनेर दिनहुँ दुखेसो पोख्न आउँने गर्नुहुन्छ । सम्झाइ बुझाइ पठाउने गरेको छु ।’ उनले भने ।

प्रकाशित मितिः सोमवार, मंसिर १५, २०७७     10:36:47 AM  |