19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बर्दिबास तनावग्रस्त, प्रहरीद्धारा गोली प्रहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७  

महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

६ वर्षीया बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका हुन् । बालिका हत्याको विरोध गर्दै बालिकाको शव स्थानीयहरुले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमै राखेर प्रदर्शन गर्ने क्रममा स्थितिलाई नियन्त्रणमा लिन र राजमार्ग खुलाउन दर्जनौं राउण्ड अश्रु ग्यास र गोली समेत चलाएको हो ।

घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्को एकजना छन् । श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ । गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने एकजनाको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको थियो । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको थियो ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७     4:11:49 PM  |