सुर्खेत ।
सुर्खेतको छिन्चुबाट लुकाईछिपाई राखेको अवस्थामा ठूलो परिमाणको अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले करेसाबारीमा लुकाईराखेको काठसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–९ टुनिखोलाका ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्री रहेका छन् ।
दुवैको घरबाट झण्डै एक सय १९ क्युफिट काठ बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ । उदरामको घरको करेसाबारीमा लुकाएको १३६ थान सालको कडी र पाँच ओटा गोलियासहित ११४ क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार खिमराजको घरबाट साल र जामुनको १८ कडी बरामद गरिएको थियो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि काठसहित सब–डिभिजन वन कार्यालय छिन्चुमा बुझाइएको छ ।
यस्तै, प्रहरीले भेरीगंगा नगरपालिका–१० परको ठुलाखालबाट छिन्चुतर्फ लजादै गरेको काठ समेत प्रहरीले बरामद गरेको छ । भे १ ह ३३४१ नम्बरको आटोमा सालको अवैध काठ ओसार्दै गरेको अवस्थामा अटो चालक सोही ठाउँका ४१ वर्षीय अलबहादुर पुनमगरलाई समेत पक्राउ गरिएको हो । छिन्चु प्रहरीले सालको काठ चार फिटको १३ थान र पाँच फिटको १० थान काठ बरामद गरिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्