20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पश्चिमी वायू सक्रिय, सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लामा हिमपातको सम्भावना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७  

कोहलपुर ।

सोमबारदेखि पश्चिमी वायु सक्रिय भएसँगै देशभर चिसो बढेको छ । पश्चिमी वायु नेपाल प्रवेश गरेसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिमपात हुने सम्भावना रहेको छ ।

भारतको उत्तरी क्षेत्र जम्भु कस्मिरबाट नेपाल प्रवेश गरेको वायुले मुख्यगरी पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाहरुमा सोमबार बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् निराजन सापकोटाले यो प्रणाली बिहीबारसम्म सक्रिय रहने जानकारी दिए । सोमबार बाँकेसहित देशका अधिकांश जिल्लाहरु राम्रोसँग घाम लागेको थिएन । अन्य दिनको तुलनामा यसवर्ष सोमबार बढी चिसोको अनुभुती भएको थियो ।

‘ठूलो वर्षाको सम्भावना छैन्, हिमाली जिल्लाहरुमा हिमपात हुने अधिक सम्भावना छ भने पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ,’ मौसमविद् सापकोटाले भने, ‘बिहीबार साँझदेखि पश्चिम नेपालको मौसममा क्रमिक रुपमा सुधार हुँदै जानेछ, त्यसपछि कम्तिमा अर्को साता मंगलबारसम्म सामान्यतया मौसम सफा रहन्छ ।’

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आएकाले तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी आइरहेको महाशाखाले जनाएको छ । मौसमविद् सापकोटाले तापक्रममा गिरावट आएसँगै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७     12:41:22 PM  |