26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

ठाकुरबाबामा बिउँ बैँक स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा ठाकुरबाबामा बिउँ बैँक स्थापना गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ३ मा रहेको हिमालय सहकारी संस्थाले नगरमा बिउँ बैँक स्थापना गरेको हो ।

नगरका किसानलाई गुणस्तरयुक्त बिउबिजन उपलब्ध गराउन बिउँ बैँक स्थापना गरिएको सहकारीले जनाएको छ । बिउँ बैँकबाट धान, गहुँ र दलहन बालीका बिउँ तयार गरिने छ ।

बिउँ बैँकमा तयार गरिएको बिउँबिजन स्थानिय किसानलाई उपलब्ध गराइने सहकारी संस्थाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैँया अनुदान र सहकारीको २८ लाख ८५ हजार ५५४ रुपैँया गरि जम्मा ५३ लाख ८५ हजार ५५४ रुपैँयाको लागतमा बिउँ बैँक स्थापना गरिएको हिमालय सहकारी संस्थाका अध्यक्ष लहनु थारुले जानकारी दिए ।

बिउँ बैँक भवनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश भूमी व्यवस्था, कृषि सहकारी मन्त्री आरती पौडेलले किसानले जमिन चक्लाबन्दी गरि आधुनिक यन्त्र उपकरणका प्रयोग गरेर खेती गरे कृषिमा समृद्धि हासिल गर्न सकिने बताइन् ।

मन्त्री पौडेलले प्रदेश सरकारले किसानहरुका लागि पालिकाहरुसँगको समन्वयमा विभिन्न किसिमका कृषि सम्वन्धी योजना ल्याएको हुँदा किसानहरुले यसबाट लाभ लिन सक्ने बताइन् । बिउँ बैँकमा गुणस्तरयुक्त बिउँ प्रशोधन गर्नका लागि अत्याधुनिक मेशिन जडान गरिएको छ ।

सहकारीमा आवद्ध किसानले पहिलो पटक ३० बिघा जमीनमा बिउँका लागि धान लगाएका छन् । किसानले उत्पादन गरेको बिउँ धान प्रशोधन गरि गुणस्तरयुक्त बिउँ तयार पारिने बताइएको छ ।

धानसँगै गहु र दलहन बालीका बिउँ पनि तयार गरिने सहकारीले जनाएको छ । बिउँ बैँक स्थापना भएपछि आफुहरुलाई बिउँबिजन खरिद गर्नका लागि निकै सहज हुने स्थानिय किसान मंगलु थारुले बताए ।

अन्य स्थानबाट खरिद गरिएका बिउँ बिजन गुणस्तरयुक्त नहुँदा किसानहरु मर्कामा पर्दै आएका थिए । आफनै गाउँठाउँमा गुणस्तरयुक्त बिउँ पाइने भएपछि नगरका किसान खुशी भएका छन् । बिउँ बैँकबाट किसानले सरल र सहज ढंगबाट गुणस्तरयुुक्त बिउँबिजन पाउने भएपछि कृषि उत्पादनमा समेत बृद्धि हुने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

कृषि उत्पादनमा बृद्धि गर्न बिउँ नै गुणस्तरयुक्त हुनु पर्ने भएकाले बिउँ बैँकबाट किसानलाई निकै राहत मिल्ने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे । नगरलाई कृषिमा समृद्ध गराउन पालिकाले नगरका विभिन्न वडाहरुलाई धान, मकै, दलहन, तरकारी, फलफुल र पशुपालन पकेट क्षेत्र घोषण गरि काम गर्दै आएको नगरप्रमख श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, मंसिर ६, २०७७     9:53:19 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *