बाँकेको कोहलपुर क्षेत्रमा रहेका लायन्स क्लबहरुको संयूक्त आयोजनामा शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा १ सय ११ प्वाईन्ट रगत संकलन भएको लायन्स क्लबका जोन चियर पर्सन चण्डीप्रसाद गैरेले जानकारी दिए ।
कोरोना कहरका कारण जिल्लाका विभिन्न अस्पतालहरुमा रगत अभाव देखिएकोले अभाव पूर्ति गर्नका लागि लायन्सहरुको संयूक्त आयोजनामा कार्यक्रम गरिएको उनले बताए ।
कोहलपुरमा रहेको लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्री, लायन्स क्लब अफ कोहलपुर ग्रिनसिटी, लायन्स क्लब अफ कोहलपुर कस्तूरी र लायन्स क्लब अफ कोहलपुर मानसरोवरको संयूक्त आयोजना सञ्चालन गरिएको रक्तदान कार्यक्रममा बोल्दै बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना संक्रमणको विषम परिस्थितिमा पनि सामाजिक दुरी कायम गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई एकीकृत गर्दै लायन्सहरुले गरेको रक्तदान कार्यक्रमबाट रगतको अभावमा छट्पटाई रहेको विरामीहरुको उपचारमा सहयोग पुग्ने बताए । जिल्लामा रगत अभाव देखिरहेको अवस्थामा लायन्सहरुले गरेको कार्यको सराहना गर्दै धन्यवाद समेत दिए ।
यस्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लामा रहेका अधिकांश सुक्षाकर्मीहरुलाई कोरोना संक्रमण देखिएकोले कार्यक्रममा सहभागी गराउन नसकिएको बताएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुटबहादु रावतले कोरोनाको जोखिम कायमै रहेकोले सामाजिक दुरी कायम गर्दै कार्यक्रम गर्न आग्रह गरेका थिए ।
कार्यक्रम सञ्चालन, व्यवस्थापनमा लायन्स क्लब अफ बैदिनगर चितवनको विशेष सहयोग रहेको डिष्ट्रिक कोडिनेटर युवराज क्षेत्रीले जानकारी दिए । यस्तै कार्यक्रमको लागि पश्चिमाञ्चल पोल्ट्री फर्मले अण्डा, गण्डकी कोल्ड स्टोर र भुषाल ब्रोदर्शले फ्रुटी, नेपाल ओयर एग्रोफयरले प्राविधिकहरुको लागि खाना तथा मनकामना गु्रपले नगद पाँच हजार सहयोग गरेको आयोजकले जनाएको छ ।
लायन्स क्लब अफ कोहलपुर मानसरोवरका अध्यक्ष प्रकाश शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी, विभिन्न लायन्स क्लवका, सर्वसाधारण लगायत विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।
औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष शाहले कोरोना संक्रमणका कारण जिल्लामा रगत अभाव देखिएकाले कोहलपुर क्षेत्रका लायन्सहरुको संयूक्त आयोजनामा कार्यक्रम गरिएको बताएका थिए । साथै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्