यमपञ्चकको आज तेस्रो दिन: आज कुुकुर तिहार र लक्ष्मीपूजा



कोहलपुर ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै छ । यस वर्षको यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि कुकुर तिहार भने आज परेको हो ।

तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आजै बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने समितिले जनाएको छ । सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ । औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक भोली बिहान गर्नुपर्नेछ ।

कुकुर तिहार अन्तरर्गत आज सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो ।

यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।

आजै लक्ष्मीपूजा

कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा पर्व मनाइँदैछ ।

आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।

घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शयया बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।

लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको छ । आजको रात्रिलाई सुखरात्रि भनिन्छ ।

लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको समितिले जनाएको छ ।

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

यसवर्षको तिहारको भाइटीका मंसिर १ गते सोमबार परेको छ । तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको प्रा. डा. गौतमले बताए ।

आउँदो मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको उनले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ । मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको प्रा. डा. गौतमले जानकारी दिए । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

अफवाहको पछि नलाग्न आग्रह

पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको ढुंगेलले बताएका हुन् ।

‘पहिलो कुरा त शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय गरेको छैन’ ढुंगेलले भने ‘हामीले मनाउने पर्व चान्द्रमास अनुसार तय हुन्छ र मंसिर एक गतेपनि चान्द्रमास अनुसार कात्तिक महिना नै पर्ने भएकोले त्यो तर्कमा कुनै सत्यता छैन ।’ अर्काेतर्फ शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि सत्यता नरहेको ढुंगेलले जानकारी दिए ।

मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । त्यसैले यसमा कुनै शुभ र अशुभ योगको कुरा नहुने ढुंगेलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २९ गते शनिबार