काठमाडौं ।
यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा अब दुई म्याच मात्र बाँकी छन्। अब दोस्रो क्यालिफायर र फाइनल म्याच मात्र बाँकी रहेका हुन् । फाइनल खेल्ने एक टिम पक्का भइसकेको छ। यो सिजनमा पनि मुम्बई इण्डियन्सले फाइनलको टिकट पक्का गरिसकेको हो।
आज फाइनल खेल्ने दोस्रो टिमको टुंगो लाग्ने छ। दोस्रो क्वालिफायरमा फाइनल प्रवेश गर्न दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै छन्। तपाईलाई आईपीएल २०२० को विजेता, उपविजेता तथा ‘प्लेअफ’ मा पुग्ने टिमले पाउने पुरस्कारको बारेमा थाहा छ ? यदि थाहा छैन भने आज जानकारी दिँदैछौँ ।
जारी आईपीएल विजेता टिमले गत वर्षभन्दा कम पुरस्कार राशि पाउने छ। भारतीय क्रिकेट अन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो पटक २०१९ को सिजनकोभन्दा ठ्याक्कै आधा पुरस्कार राशि दिने निर्णय गरिसकेको छ।
गत सिजनमा मुम्बई इण्डियन्सले ट्रफीसहित नगद २० करोड भारु पुरस्कार पाएको थियो। तर, आईपीएल २०२० मा विजेता बन्ने टिमले १० करोड भारु पुरस्कार पाउने छ।
यो पटक उपविजेता टिमले ६ करोड २५ लाख भारु पउने छ। गत सिजनमा उपविजेता बनेको चेन्नई सुपर किंग्स (सीएसके)ले साढे १२ करोड भारु पाएको थियो।
विजेता र उपविजेता टिमले मात्र होइन ‘प्लेअफ’मा पुग्ने टोलीले पनि पुरस्कार रकम पाउने छन्। क्वालिफायर २ र एलिमिनेटरमा हार्ने टिमले पनि चार करोड बढी रकम पाउने छन्।