मनाइयो २६ औँ राष्ट्रिय कण्डम दिवस, रिक्सा चालकलाई कण्डम वितरण



नेपालगञ्ज ।

बाँकेसहित देशभर शनिबार २६ औं राष्ट्रिय कण्डम दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको असरमा बाँकेको नेपालगञ्जमा समेत औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय कण्डम दिवसको अवसर रिक्सा चालक लगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको हो ।

नेपालगञ्जस्थित बीपी चोकमा रिक्सा चालक लगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रमको अवसरमा माक्स नलगाएर हिडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले कण्डमको सहि प्रयोग गरेमा दोहोरो सुरक्षा प्रदान गर्ने बताएका थिए । एचआइभी तथा यौन रोगबाट कण्डमले जोगाउने बताउँदै उनले अनिच्छित गर्भ रहनबाट जोगाउन पनि मद्दत गर्ने बताए । ‘कण्डम परिवारनियोजनको साधन मात्र नभई एचआइभी र यौनरोगबाट जोगाउने प्रभावकारी साधन पनि हो,’ उनले भने । भेरी अस्पतालका ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा.संकेत रिसालले कण्डमको सहि प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताएका थिए ।

एचआइभी र यौनरोगको संक्रमण दर स्थिर अवस्थामा राख्न कण्डम प्रयोग गर्ने ब्यवहारलाई अझ सशक्त रुपमा बढावा दिनुपर्ने धारणा उनले राखे । दिवस मनाउन भेरी अस्पताल एआरटी क्लिनिक, पश्चिम तारा नेपाल, असहाय सेवा संघ, जुनकिरी महिला समुह, सिआरएस, नागार्जुन डेभलपमेन्ट कमिटी, चेन्ज टीम, एनएपिएन लगायत संघसंस्थाले सहकार्य गरेका थिए । ‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौँ’ भन्ने मुल नारामा साथ दिवस मनाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार