बाँकेमा थपिए ४४ संक्रमित



कोहलपुर ।

बाँकेका मंगलबार थप ४४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका एक सरकारी र दुई निजी पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले ३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाभित्रका ४४ जनाका साथै बाहिरी जिल्लाका थप २८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

भेरी अस्पतालको ल्यावमा गरिएको परीक्षणमा बाँकेका ३७ र जिल्ला बाहिरका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्तपताल कोहलपुरमा गरिएको परीक्षणमा जिल्लाभित्रका ५ र जिल्ला बाहिरका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी कोहलपुस्थित वागेश्वरी डाईग्नोष्टिक ल्यावमा गरिएको परीक्षणमा बाँके २ र जिल्ला बाहिरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दशैयता कोरोना संक्रमण दर र मृत्यु दर समेत पहिलेको भन्दा बढेको छ । योसँगै मंगलबारसम्म बाँकेमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ५६ पुगेको छ ।

अहिलेसम्म २ हजार ९ सय ६० जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणकै कारण ३४ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोना कारण मृत्यु हुनेमा १३ महिला र २१ पुरुष छन् ।

यसैबीच कोरोना संक्रमण देखिएपछि उपचारका लागि कोहलपुर आएकी एक महिलाको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी घोराही उप–महानगरपालिका १० की ६५ वर्षिय महिलाको उपचारकै क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ती महिलालाई सोमबार बेलुका मेडिकल कलेजको कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो । योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने संक्रमितको संख्या २३ जना पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १९ गते बुधबार