भारतसँग सीमा क्षेत्र पूर्वी लद्दाखमा तीव्र विवाद भइरहेका बेला चीनले राष्ट्रपति सी चिनफिङकै नेतृत्वमा रहेको शीर्ष सैन्य एकाइसमेतलाई तयारी अवस्थामा राखेको छ।
चीनका अनुसार सीमाको उच्च भूभागमा तैनाथ आफ्नो पिपुल्स लिबरेसन आर्मी (पीएलए) जवानका लागि उच्च तयारी गरिएको हो।
भारतको अंग्रेजी अखबार द हिन्दुस्तान टाइम्सका अनुसार चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल वु चिआनले बिहीबार सीमामा तैनाथ सैनिक जवानका लागि गरिएका नयाँ व्यवस्था र तयारीका विषयमा जानकारी गराएका हुन्।
उनले भारतको नाम नलिए पनि पूर्वी लद्दाखमा भारतसँग भइरहेको विवादका बीच यो तयारी गरिएको छ।
उनले गराएकाे जानकारीअनुसार चीनको सत्ताधारी दल कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले सीमा क्षेत्रमा अझै लामो समय द्वन्द्व जारी रहने अनुमान गरेको छ।
वुले भने, ‘अहिले सेन्ट्रल मिलिट्री कमिसन (चीनको शीर्ष सैन्य एकाइ, जसको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन्) को रसद व्यवस्थापन विभागलगायत सम्बन्धित अन्य विभागमा पनि केही नयाँ सुधार गरिएको छ र उच्च तरिका अपनाइएको छ। उच्च तरिका अपनाउनुको अर्थ- उच्च भूभाग र हिमाली हावापानीमा पनि सैनिक बस्न सक्ने तथा तालिम गर्न सक्ने राम्रो अवस्था बनाउनु हो।’
वुले बताएअनुसार सैनिक जवान बस्ने स्थानमा स्वचालित ऊर्जा प्रविधि विकास गरिएकोे छ, जसले तातो बनाइराख्छ र त्यो सैनिक आफैंले बनाउन सक्छन् र यो ऊर्जाका हिसाबले आत्मनिर्भर छ।
वुले भने, ‘त्यो क्षेत्र जहाँको बाहिरी तापक्रम माइनस ४० डिग्री सेल्सियस हुन्छ र ५ हजार मिटरभन्दा उचाइमा छ, त्यहाँ पनि सैनिक बस्ने स्थानभित्र भने १५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहन्छ।’
यसअतिरिक्त सैनिक जवानका लागि नयाँ स्लिपिङ ब्याग, कोल्डप्रुफ जुत्ता बनाइएको उनले बताए। साथै खाद्यान्न भण्डारका लागि नयाँ थर्मल इन्सुलेसन उपकरण र अत्यधिक चिसो ठाउँमा प्रयोग गर्न सकिने नयाँ प्रकारका खानाको अनुसन्धान पनि भइरहेको वुले जानकारी दिएका छन्।









प्रतिक्रिया दिनुहोस्