3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

दसैंमा के–के खाने, कसरी खाने ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७  

डा. प्रणिती सिंह ।

दसैं भन्नेवित्तिकै मिठो खाने र राम्रो लाउने चाड भन्ने आमबुझाइ छ । त्यसैले दशैंंमा आ–आफ्नो गच्छेअनुसार सबैका घरमा नयाँ लुगा लगाउने र मिठो परिकार पाक्ने गर्छ । दशैंमा सबैभन्दा बढी खपत मासुकै हुन्छ ।

हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरुले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैंमा । यो चाडमा अधिकांश नेपालीको भान्सामा खसीको मासु पाक्छ ।

त्यसका अलावा कुखुराको मासु र माछा पनि अत्यधिक प्रयोग हुन्छ । मासुमा अत्यधिक मरमसाला र चिल्लोको प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ ।

दसैंमा १० पटक खानुपर्छ भन्ने मान्यता छ, त्यसैले अन्य बेलामा भन्दा बढी खानेकुरा पाक्छन् । दसैंमा मासुका विभिन्न परिकार बनाई बिहान, दिउँसो र साँझ मुख्य परिकारका रुपमा खाने प्रचलन छ । स्न्याक्समा पनि मासुकै प्रयोग बढी हुन्छ ।

दसैंका बखत कार्यालयका साथै शिक्षण संस्थाहरु पनि बन्द हुने भएकाले सबै फुर्सदमा हुन्छन् । दसैंमा घरमै बसी परिवारका साथमा होस् या साथीभाइ आफन्तसँग मदिराजन्य पदार्थको सेवनसँगै जुवातास खेल्ने, टिभी हेर्ने, साथी जम्मा भएर गफ गरेर समय बिताउँने चलन छ ।

शारीरिक कसरत कम हुने र खाना पनि चिल्लो र मसालायुक्त हुन्छ, जसले गर्दा मोटोपन बढाउने र दीर्घ रोगीहरुलाई रोग बल्झने सम्भावना प्रवल हुन्छ । मधुमेह, उच्च रक्तचाप भएका बिरामीले यस्तो खानेकुरा खाँदा रोग बढ्ने र फ्याटिलिभर बढ्ने गर्छ । साथै निरोगी मानिस पनि आफ्नो वजन बढी भई वा अन्य दीर्घरोग लागेर अस्पताल धाउने गर्छन् चाडबाड सकिनासाथ ।

दसैंमा अत्यधिक रातो मासुको प्रयोग गर्नाले युरिक एसिडका बिरामी बढ्ने गर्छन् । यसको मुख्य कारण भनेको चाडबाडमा अन्य बेलाको भन्दा बढी खानेकुरा खाने तर आफ्नो स्वास्थ्यको ख्याल नराख्नु नै हो ।

चाडबाडमा रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ तर मिठो खाने भन्दैमा अत्यधिक मात्रामा माछा, मासु, मैदाले बनेका परिकार र चिनीबाट बनेका खानेकुरा खानु हुँदैन ।

दसैंमा मासु खानै हुँदैन भन्ने होइन, तर सन्तुलन मिलाएर खानुपर्छ । त्यसो भयो भने कुनै समस्या हुँदैन । सन्तुलित भोजनले स्वास्थ्यलाई फाइदा गर्छ । जस्तैः एक दिन कुखुराको मासु खाने, अर्को दिन माछा खाने र खानामा मौसमी सागसब्जीको उपभोग गर्न सकिन्छ ।

यसरी खाना खाएमा निरोगी हुन मद्दत गर्छ । १० पटक खाने भनेर जति बेला पनि मासु खानैपर्छ भन्ने मान्यता गलत हो । फलफूल, सलाद, भटमास साँदेर पनि खान सकिन्छ । आफ्नो शरीरले मागेको जति खानेकुरा खाएर पनि चाडबाड मनाउन सकिन्छ । चाडबाडमा मासुसँगै मौसमी फलफूल र सागसब्जीलाई भान्सामा समावेश गर्न सकियो भने मासु राम्रोसँग पचाउन मद्दत गर्छ र रोगबाट बच्न सकिन्छ ।

खानामा दैनिक रुपमा फलफूल समावेश गर्न सकियो भने भिटामिन र मिनिरल प्रशस्त मात्रामा पाउन सकिन्छ । मासुलाई उसिनेर राम्रोसँग छाला निकालेर थौरै तेलमा पकाएर खानु स्वास्थ्यकर हुन्छ ।

दसैंमा खानाका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । दैनिक आधा घन्टा आफ्नो लागि समय निकालेर शारीरिक कसरत गर्नाले रोग नियन्त्रण हुनुका साथै खाना पच्न मद्दत गर्छ ।

(डा. सिंह पोषणविद् हुन्)

प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७     10:55:01 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *