27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

शहर सुनसान गाउँमा चहलपहल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७  

कोहलपुर ।

दशैं मनाउन मानिसहरु गाउँ फर्किएपछि शहरमा सुनसान हुन थालेको छ । शहर बजारमा मानिसहरुको चहलपहल न्यून हुँदै जाँदा गाउँघरमा भने मानिसहरु भरिदैछन् । बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा लगायतका बजारहरु सुनसान हुन थालेका छन् ।

सवारी र मानिसहरुको चहलपहल शहरमा बजारमा कम हुँदै भइरहेको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो दिनहरुमा जिल्लामा भित्र्निेहरुको संख्या भन्दा यहाँबाट दशैं मनाउन गाउँ फर्किनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

व्यापार व्यवसाय गरेर शहरमा बस्ने दशैं तिहारमा गाउँमा जाने गरेकाले प्रायः शहर बजारहरु सुनसान हुनेको हो । सोही कारणले अहिले गाउँघरमा मानिसहरुको पहलपहल बढेको बाँके राप्तीसोनारी गाउँपालिका–०७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।

‘यसपाली कोरोना कहरका कारण हुनसक्छ । विगतको जस्तो दशैंको रौनकता र चहलपहल छैन’ उनले भने, ‘तर पनि गाउँमा मानिसहरु दशै तिहार मनाउन घर बाहिरबाट आइसकेका छन् ।’

मानिसहरु गाउँघरमा जाँदा बजारहरु प्रायः खाली जस्तै देखिएका र अधिंकास पसलहरु बन्द रहेको बाँके प्रहरीले जनाएको छ । दशैं मनाउन घर गएकाहरु दशैंको पर्सीपल्ट मात्र कार्यक्षेत्रमा फर्किने गरेका छन् ।

त्यसपछि मात्र शहर बजारमा फेरी क्रमश मानिसहरुको चहलपहल बढ्ने गर्दछ । खासगरी कोजाग्रत पूर्णिमापछि दशैं सकिने भएकाले त्यसपछि मात्र बढी चहलपहल हुन्छ ।

यसवर्ष कोरोनाको जोखिम यथावत् रहेकोले पनि शहर बजारमा मानिसहरुको चहलपहल कम भएको हुनसक्ने आंकलन गरिएको छ ।

अधिकांश मानिसहरु कोरोनाका कारणले दशैंभन्दा केही महिना अगाडि नै घर फर्किसकेका थिए । मानिसहरुको मात्र होइन सडकमा सवारी साधन पनि कम गुडेको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

यो अवधीमा सार्वजनिक सवारीको तुलनामा निजी सवारी साधनहरु धेरै चलेका छन् । यो वर्ष भने कोरोना महामारीका कारण सरकारले मानिसहरुले आफु बसेकै स्थानमा भिडभाड नगरेर दशैं मनाउन आग्रह गरेको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७     10:49:20 AM  |