नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१ मा रहेको वाटरपार्कमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो साथीहरुसँग पौडी खेल्न वाटरपार्कको तलाउमा पसेका दश वर्षिय बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार डुबेर मृत्यु हुनेमा नेपालगञ्ज–११ का १० वर्षिय फरमान खाँ रहेका छन् ।
उनी साथीहरुसँग समुह बनाएर पौडि खेल्नको लागि त्यहाँ पुगेका थिए । उनीहरुले घरमा भने माछा मार्न जाने बताएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । वाटरपार्कमा पुगेपछि पौडि खेल्ने क्रममा मृतक खाँ गहिरो स्थानमा परेका थिए ।
उनको शवंलाई प्रहरीले तालबाट बाहिर निकालेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले वाटरपार्कलाई नेपालगञ्ज उप–महानगरपालिकाले सफाइ गरेको थियो ।
उप–महानगरपालिका कार्यालयले कसैलाई ठेक्का नदिएकाले त्यहाँ अहिले जो कोही पनि जान्छन् । सोही क्रममा शनिबार घटना भएको स्थानीयहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्