सुदीप अधिकारी । बर्दिया ।
पूर्व–पश्चिम राजमार्गमा मानखोला–भुरिगाउँ सडकखण्डमा खाल्डाखुल्डी परेको महिना भयो । तर, अहिलेसम्म राजमार्ग मर्मत भएको छैन । राजमार्ग मर्मत नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ । पूर्वपश्चिम राजमार्ग अत्यन्तै व्यस्त राजमार्ग हो । यहाँ दिनहुँ सयौँ सानाठुला सवारी साधान चल्ने गर्छन् । महिनौ बित्दा पनि राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम पनि उत्तीकै बढेको छ ।
पूर्वपश्चिम राजमार्गको मानखोलादेखि भुरिगाउँसम्म करिव ४० किलोमिटर क्षेत्रमा सयौँ स्थानमा सानाठूला खाल्डाखुल्डी छन् । सबैभन्दा बढी खाल्डाखुल्डी कतरनियादेखि भुरिगाउँसम्मको क्षेत्रमा छ । एउटा खाल्डो पार गर्न नपाउँदै अर्को खाल्डो आउँछ । खाल्डाखुल्डीका कारण सवारी दुर्घटनामा परेर ज्यानै जान सक्ने खतरा छ । यहाँ सवारीसाधान चलाउन निकै सकस भएको छ । दिउँसो भन्दा रातीको समयमा चल्ने सवारीसाधन दुर्घटना हुने जोखिम बढेको सवारीचालकहरु बताउँछन् ।
रातीको समयमा विपरित दिशाबाट आएको गाडीलाई साइड दिँदा खाल्डोमा परेर दुर्घटना हुन सम्भावना बढी रहेको चालकहरु बताउँछन् । खाल्डाखुल्डीका कारण राजमार्ग गाडीलाई साईड दिनु पर्दा रोक्नु पर्ने बाध्यता छ । राजमार्गको कर्णाली चिसापानी खण्डमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी छन् । सडक मर्मतसम्भार गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको हो । तर सडक डिभिजनले सडक मर्मतमा कुनै चासो दिएको छैन । स–साना खाल्डामा माटो हाल्ने काम मात्र भएको छ ।
केही समय अघि टालटुल पारेको ठाउँ पनि फेरी उस्तै खाल्डो परेको छ । सडकमा जहाँतही खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन निकै सास्ती हुने गरेको सवारी चालक दिनेश आचार्यले बताए । सडक बिग्रेका कारण यात्राको समय पनि लम्बिने गरेको उनी बताउँछन् । जहाँतही सडक भत्केकाले सवारीसाधनलाई पनि निकै मार पर्ने गरेको चालकहरु बताउँछन् । अती ब्यस्त हुने राजमार्गमा जहाँतही खाल्डाखुल्डी हुँदा सवारी चलाउन निकै कष्ट र जोखिम भएको स्थानिय प्रदीप भण्डारी बताए ।
ठूलाभन्दा साना सवारीलाई निकै जोखिम भएको उनले जानकारी दिए । ‘राजमार्गमा कहाँ नेर खाल्डो छ । थाहै हुँदैन । एक्कासी खाल्डोमा पर्दा दुर्घटना हुने जोखिम बढी छ’ उनले भने । सडकका खाल्डाखुल्डी नेपालीका ठूला पर्वहरु दशै तिहार नजिकिदै जाँदा सम्बन्धित निकायहरुले मर्मत गर्नमा चासो दिएका छैनन् ।
संघिय सरकारले केही साताअघि दशै अगाडि नै सडकका खाल्डाखुल्डी पुरिसक्ने बताएपनि बर्दियाका मुख्य राजमार्गमा भने अहिलेसम्म खाल्डाखुल्डी मर्मत नगरिएको स्थानीयहरु बताउँछन् । यसले गर्दा चाडपर्व मनाउन घर जानेहरुलाई सास्तीको जोखिम र दुर्घटनाको भय समेत भएको स्थानीय रामकृष्ण थारुले बताए ।
सडकमा रहेका साना ठूला खाल्डाखुल्डीका कारण दैनिक जसो सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ । सामान्य खालका दुर्घटना भएका कारण अहिलेसम्म मानवीय क्षती नभएको ट्राफिकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्