बाँके ट्राफिक प्रहरीको योजना ‘एक दिन, एक अभियान’



डिल्ली शाही, काेहलपुर ।

जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेले एक दिन एक अभियान सञ्चालन गर्ने भएको छ । बाँकेका सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्रहरुमा सवारी दुर्घटना न्युनिकरणका लागि एक दिन एक अभियान सञ्चालन गरिने भएको हो । बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ आएका कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले आफ्ना प्राथमिकता समेत सार्वजनिक गरेका थिए । उनले यो अभियानमा बारेमा जानकारी गराएका थिए ।

अब प्रत्येक दिन कुनै न कुनै विषयमा जिल्लाभर ट्राफिक दुर्घटना न्युनिकरण सम्बन्धी अभियान सञ्चालन गरिने उनले बताए । ‘अभियानको मुल उद्धेश्य सवारी दुर्घटना न्युनिकरण तथा मानवीय तथा भौतिक क्षति कम गर्ने हो’ ट्राफिक प्रहरी निरीक्षक भण्डारीले भने, ‘यो अभियान दैनिक सञ्चालन हुनेछ । एक दिन मापसे विरुद्ध अभियान चन्छ । अर्को दिन तीव्र गति । अर्को दिन ओभर लोडका विषयमा अभियान सञ्चालन हुन्छ ।’ सवारी दुर्घटना न्युनिकरण पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताएका थिए ।

बाँकेका ट्राफिक प्रहरी प्रमुख समेत रहेका ट्राफिक प्रहरी निरीक्षक भण्डारीले सवारी दुर्घटना न्युनिकरण गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएको दाबी गरेका थिए । त्यसैले सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय सरकार, उद्योगी, व्यापारी, समाजसेवी लगायत सम्पूर्णसँग सवारी दुर्घटना न्युनिकरणका लागि हातेमालो गरेर अघि बढ्ने उनले बताएका थिए । ‘सबैभन्दा बढी भीडभाड हुने क्षेत्रमा हामी सक्रिय हुन्छांै । कोहलपुर सँगै नेपालगञ्ज तथा अन्य क्षेत्र प्राथमिकता हुन् ।

इ–रिक्सा व्यवस्थापनमा ध्यान दिइनेछ । तत्कालिन तथा दीर्घकालीन सोचका साथ अघि बढ्नेछु’ उनले भने । उनले एक दिन एक अभियान समेत सञ्चालन गरिने बताए । ट्राफिक प्रहरी निरीक्षक भण्डारीले निर्णय कार्यान्वयनलाई समेत प्रमुखताका साथ अघि बढाइने प्रतिबद्धता जनाए । सरोकारवालाहरुबीच भएका निर्णयहरुको कार्यान्वयनको पक्षमा आफू रहेको र पहल समेत गरिने उनी बताउँछन् । ‘म बोलीमा भन्दा पनि काममा विस्वास गर्छु । बरु म थोरै काम गर्नु तर परिणाम दिन्छु ।’ धेरै सरोकारवालाले धेरै कुराको सुझाव दिनु भएको छ ।

सबै पक्षसँग बसिरहेको छु । यस विषयमा बृहत रुपमा छलफल गरेर निकास निकाल्ने र एक्सनमा जाने उनले प्रतिबद्धता व्यक्त गरे । हरेक क्षेत्रमा राम्रा काम गर्न बाँके ट्राफिक प्रहरी स्वंयमसेवकको काम गर्न तयार रहेको ट्राफिक प्रहरी निरीक्षक भण्डारीले बताए । सरुवा भएर भर्खरै बाँके जिल्लामा आएका हुन उनी । त्यो भन्दा अघि अख्तियार अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत थिए । त्यहाँ उनले दुई वर्ष काम गरे । अन्य जिल्लाहरुमा समेत इन्चार्जको रुपमा काम गरिसकेका उनी बाँकेमा आफ्नो विगतको अनुभव सिकाईलाई अधिकतम प्रयोग गर्ने बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहीबार