17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

दाङसहित छिमेकी जिल्लाका स्थानियमा खुसीयाली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १७, २०७७  

दाङ ।

देउखुरी भालुवाङ क्षेत्रमा राजधानी बनाउन प्रदेश ५ को मन्त्रीपरिषदले निर्णय गरेसँगै दाङसहित छिमेकी जिल्लामा खुसीयाली छाएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको भालुवाङलाई केन्द्र मानेर राजधानी बनाउने निर्णय मन्त्रीपरिष्दबाट भएपछि पश्चिम क्षेत्रका प्रदेश सांसदहरु पनि उत्साहीत भएका छन् । राजधानी प्रस्ताव गरिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य इन्द्रजित थारुले मन्त्रीपरिषद्को प्रस्ताव सर्व सहमतिमा पारित हुने दावी गरे ।

प्रदेशको स्थायी राजधानी प्रस्ताव गरिएको दाङ देउखुरीको भालुवाङ क्षेत्र । तस्विरः शिवु खनाल

‘धेरै छलफलपछि प्रस्ताव आएको छ, सबैलाई पायक पर्ने स्थानमा प्रस्ताव गरिएकोले भालुवाङ केन्द्र मानेर गरिएको राजधानीको प्रस्ताव सबैको सहमतिमा पारित हुन्छ ।’ यस्तै बर्दिया जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य दिपेश थारुले सरकारले प्रदेशको राजधानी राख्ने प्रस्ताव दाङ देउखुरीलाई प्रस्ताव गरेको प्रति खुसी व्यक्त गरे । ‘हामी पश्चिम क्षेत्रका साँसद र जनताको पायक पर्ने स्थानमा राजधानी हुनुपर्छ भन्ने माग थियो’ उनले भने, ‘अहिले सोही अनुसार भएकोमा खुसी लागेको छ, म पहिचान पक्षको भएकाले पनि नामको हकमा मेरो फरक मत छ ।’

बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ले पनि सरकारको निर्णयले बाँके र बर्दियाबासीलाई केही भएपनि खुसी दिएको बताइन् । ‘बुटवल राजधानी हुँदा यहाँका नागरीकहरुको आवाज कर्णाली प्रदेशमा मिसिने रहेको थियो’ उनले भनिन्, ‘सबै जिल्लालाई सेन्टरमा पर्नेगरी स्थायी राजधानीको लागि गरेको प्रस्ताव राम्रो छ ।’ स्थानीय स्तरमा पनि प्रदेश राजधानीको विषयमा सरकारले निर्णय गरेर संसदमा टेवुल भएकोमा दाङको राप्ती उद्योग बाणिज्य संघले स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवाद दिएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले सरकारले न्यायोचित निर्णय गरेको भन्दै खुसी व्यक्त गरे ।

‘सरकारलाई धन्यवाद छ, संसदबाट पनि एकमतले राजधानीको प्रस्ताव पारित हुनेछ भन्ने आशामा छौं’ उनले भने । प्रदेश नं. ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकारात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै, प्रदेशकै समस्या हल भएको बताए । ‘राजधानीको प्रस्ताव ढिलै भएपनि दाङमा आएको छ यसमा खुसी छौ, प्रदेशको नेतृत्व गर्नुभएका सबैलाई धन्यवाद दिन चाहान्छौ’ उनले भने ।

नेपाली काँग्रेस दाङका सभापती कृतिवहादुर खड्काले प्रदेश सरकारले दाङ राजधानीको लागि प्रस्ताव गरेमा खुसी व्यक्त गर्दै, राजधानी भयो भनेर हौसिने भन्दा प्रदेशवासी एक भएर लाग्नुपर्नेमा जोड दिए । ‘दाङ पायकको हिसावले केन्द्रविन्दु नै हो, उपयुक्त ठाउँमा तोकिएको छ, अब प्रदेशको समानुपातिक विकासको लागि लाग्नुपर्छ ।’

प्रकाशित मितिः शनिबार, अशोज १७, २०७७     10:53:43 AM  |