18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्थानीय प्रशासनको नीति, ‘बाँकेमा गुनासो आउने बित्तिकै अनुगमन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १०, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा तीन दिनको अन्तरालमा दुईदिन छड्के अनुगमन गरिएको छ । नगर क्षेत्रमा विभिन्न पेसा र व्यवसाय गर्दै आएका व्यवसायीबाट उपभोक्ता ठगिएको गुनासो भएपछि सरोकारवालाहरुको सहभागितामा अनुगमन गरिएको हो । कोहलपुरमा बुधबार उक्त टोलीले तीन वटा पानी उद्योगमा अनुगमन गरेको थियो । उक्त अवसरमा मापदण्ड विपरित सञ्चालित एक पानी उद्योग शिल गरियो । शुक्रबार पनि अनुगमन टोलीले कोहलपुर क्षेत्रकै एक सप्लायर्स र कपडा पसल अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा ती पसलहरु मापदण्ड विपरित सञ्चालन भएको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत तथा अनुगमन टोलीका सदस्य हरिशचन्द्र शर्माले कोहलपुरमा सञ्चालनमा रहेका पसलहरुमा उपभोक्ता ठगिएको गुनासो आएपछि अनुगमन गरिएको जानकारी दिए । उनका अनुसार कोहलपुर–१० स्थित क्रिस्टल टे«ड एण्ड सप्लायर्स र कोहलपुर–११ स्थित निर्मला फेसन कलेक्सनमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ती पसलहरुमा धेरै कुरा प्रक्रिया नभएको देखिएको उनले बताए । उनीहरुलाई पहिलो पटक प्रक्रिया नपुगेका सबै विधि पुरा गर्न र नेपालको प्रचलित ऐन कानुन अनुसार सात दिन भित्र प्रक्रिया पुरा गर्न अल्टिमेटमका साथै निर्देशन दिइएको उनले जानकारी दिए । ‘प्रशासन कार्यालयले उपभोक्ताहरुका गुनासोको चाँडै सुनुवाई गर्ने गरेको छ । हामी तत्काल अनुगमन गरिहाल्छौं । अनुगमनको क्रममा विधि प्रक्रिया पुरा नभएको भए, सिल गर्नेदेखि कारबाही समेत गर्ने गरिएको छ ।

यसपटक भने पहिलो पटक अनुगमन गरिएकोले अल्टिमेटम दिइएको छ’ उनले भने । अनुगमन गरिएका दुवै पसलमा व्यवसायीहरुले सस्तो मुल्यमा सामान खरिद गरेर चर्को मूल्यमा बिक्रि गर्ने गरेको पाइएको थियो । अनुगमनको क्रममा क्रिस्टल टे«ड एण्ड सप्लायर्सले मूल्य सूचि नटाँसेको सम्बन्धित स्थानीय तहमा दर्ता नभएको र निर्मलामा उपभोक्तालाई बिल दिने नगरेको तथा खरिद मुल्य भन्दा बढी मूल्यमा उपभोक्तालाई सामान बेच्ने गरेको पाइएको बताइएको छ । कोहलपुर नगरपालिका स्तरीय बजार अनुगमन समितिका संयोजक विर बहादुर विकले कुनै पनि ठाउँमा आफू ठगिएको महशुस भएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरे । उनले कोहलपुर नगरपालिकामा बारम्बार अनुगमन गरिरहेको बताए । उनका अनुसार अनुगमनको क्रममा धेरैलाई कारबाही समेत गरिएको छ । नजिकै चाड पर्व आउने लागेकोले अनुगमनलाई समितिले तिव्रता दिने उनले बताए ।

‘हामीले अनुगमन गरिरहेका छौं । धेरैलाई कारबाही समेत गरिएको अवस्था छ । अब चाडपर्व पनि आउने थाले । अनुगमनलाई तिव्रता दिइन्छ’ संयोजक विकले भने । यता आपुर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण पौडेल बजारमा अनुगमनको क्रममा पहिलो पटक चेतावनीसहित सच्चिने मौका दिने र दोस्रो पटकको अनुगमनमा दोषि देखिए तत्काल कारबाही हुने बताउँछन् । उनले पनि कुनै पनि व्यवसायीले उपभोक्ताहरुलाई न्युनतम २० प्रतिशत सम्म मात्रै फाइदामा बेच्न पाउने तर राज्यलाई अनिवार्य रुपमा कर तिर्नुपर्ने बताए । अब नजिकै चाडपर्व समेत आउन लागेकोले बजार अनुगमनलाई तीव्र बनाइने बताइएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १०, २०७७     1:11:01 PM  |