कोहलपुर ।
सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कोहलपुर नगरपालिकामा शैक्षिक विकृतिको सुधारको लागि ११ बुँदें माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।
कोरोना कहर जस्तो महामारीको समयमा कोहलपुर क्षेत्रमा भएका अराजक शैक्षिक क्रियाकलाप सुधारको माग गर्दै नगरपालिकालाई तत्काल पहल थाल्न ७२ घण्टे अल्टिमेटम दिएको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय सदस्य सूर्य रोकायद्धारा हस्ताक्षरित विज्ञप्ति कोहलपुर क्षेत्र विकृत शैक्षिक अवस्था सुधारको लागि ११ बुँदें माग गर्दै नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई समेत बुझाइएको थियो ।
उक्त विज्ञप्ति मार्फत संस्थागत विद्यालयहरुको पढाई सुरु भएको १५ दिन वा एक महिनापछि मात्रै भर्ना अभियान सुरु गर्नु पर्ने, कोरोनाका कारण विद्यार्थी र अभिभावकलाई समस्या परेकोले भर्ना शुल्क तथा मासिक शुल्कमा कडाई गर्नुपर्ने, महामारीको बेलामा अनलाइन कक्षा प्रभावकारी नदेखिएकोले अनलाइन कक्षामा नाममा असुलिएको शुल्क फिर्ता गर्न र अनुमति पाएको भन्दा एक थप कक्षाको अनुमति नलिई माथिल्लो कक्षा पढाई गर्ने विद्यालयलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।
‘तोकिएको भन्दा बढी र अनावश्यक शीर्षकमा शुल्क असुल्नेलाई कारबाही होस् । सामुदायिक विद्यालयहरुको शैक्षिक विकासको गुरुयोजना तत्काल सार्वजनिक गरियोस् । विद्यालयको दरबन्दी मिलान गरी प्रत्येक विद्यालयमा तह अनुसारका प्र.अ.को व्यवस्था तत्काल होस्’ केन्द्रीय सदस्य रोकायद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । यस्तै सामुदायिक विद्यालयमा प्रदान गरिने छात्रवृत्ति रकम सोही शैक्षिक सत्रमा गर्न, संस्थागत विद्यालयमा नगर शाखाको सिफारिसमा छात्रबृत्ति कोटामा पढ्ने विद्यार्थी छनोट गर्न माग गरिएको छ ।
सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापको दायरा बढाउनुपर्ने, संस्थागत विद्यालयले लिने वार्षिक शुल्क यस वर्ष नलिने बनाउनको लागि पहल थाल्न र नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरुको स्थलगत अनुगमन गरि कोरोनाबाट सुरक्षित भएको ज्ञारेन्टीपछि मात्रै विद्यालयमा खोल्न माग गरिएको हो । केन्द्रीय सदस्य रोकायले नगरपालिकालाई आफ्ना माग सम्बोधनको लागि तीन दिन समय दिएको र तीन दिनसम्म पनि माग पुरा नभएमा थप संघर्षका कार्यक्रम अघि बढाइने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्