‘सरकारी अस्पतालमा सुधार आएको छ’



शिवु खनाल । दाङ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पछिल्लो समय सरकारी अस्पतालमा सुधार आएको बताएका छन् । आइतबार दाङको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा प्रदेशमा उल्लेख सुधार भएपनि नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नबढेको बताएका हुन् ।

‘सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सुविधा छ, राम्रो उपचार भइरहेको छ’ उनले अगाडि थपे, ‘प्रदेशमा कोरोना संक्रमित भएका बिरामीलाई उपचार गर्ने सक्ने आइसियूसहितका अस्पताल र प्लाज्मा थेरापीसम्मका काम भइरहेका छन् ।’ मुख्यमन्त्री पोख्रेलले कोरोना संक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेको समयमा स्वास्थ्य मापदण्ड पालन गर्न र भिडभाडजन्य गतिविधि नगर्न पनि आग्रह गरे । ‘आत्मबल बलियो बनाउने र प्रतिरोधी क्षमता बढाउने हो भने रोगलाई जितिन्छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने सजक रहने गर्नुपर्छ’ उनले भने ।

स्थानीय स्तरबाट मुआब्जाको कारण देखाउँदै विकासको कामलाई अवरुद्ध नगर्न मुख्यमन्त्री पोख्रेलले आग्रह गरेका थिए । नेपालका गुरुयोजना सफल नहुनुको मुख्य कारण मुआव्जा पनि भएको भन्दै सरकारले सारेको विकासको कामलाई नागरिक स्तरबाट सहयोग पु¥याउनुपर्ने उनले जोड दिए ।

संघीय सांसद मेटमणी चौधरीले सर्पदंश उपचार केन्द्रबाट दाङ सहित छिमेकी जिल्लाका नागरिकले समेत फाइदा लिन सक्ने भएकोले स्तर बृद्धि गर्ने काममा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सांसद इन्द्रजित थारुले नगारिकले सर्पदंश उपचारकेन्द्र प्रति विश्वास गरेको भन्दै पछिल्ले समय स्वास्थ्य क्षेत्रमा सुधार हुन थालेको बताएका थिए । ‘ट्रमा सेन्टर लमहीमा बन्दै छ, तुलसीपुरमा प्रादेशिक अस्पताल छ, घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गढवाको सर्पदंश उपचार केन्द्रले दाङको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ’ उनले भने । गढवा गाउँपालिकाको एक करोडको लागतमा भवन निर्माण गरेर नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

कोइलाबास नाकाको निरीक्षण

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङको कोइलाबास नाकाको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । उनले आइतबार पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटि भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन् । दाङ देउखुरीको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको भवन उद्घाटन कार्यक्रम पश्चात् भारतसँग जोडिएको दाङको पुरानो कोइलाबास नाकामै पुगेर अवलोकन गरेका थिए ।

सोही अवसरमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले कोइलाबास नाकामा बैंक स्थापना गर्नको लागी मुख्यमन्त्री पोख्रेललाई ध्यानाकर्षण गराए । ‘लमही कोइलाबास हुलाकी राजमार्ग पनि तयार भए लगत्तै पहिलेको तुलनामा कोइलाबासमा अहिले धेरै चहलपहल भएको छ । भन्सार भारतिय कस्टम बलरामपुरमा बसेको छ । अव कोइलाबास नाकामा बैंकको आवश्यकता छ’ उनले भने, ‘बजार नजिकै नहुँदासम्म सामान ओसारपोसार गर्न सकिदैन । कोइलाबास भन्सार सञ्चालनको साथै बैंक स्थापनाको पहल गरिदिनुप¥यो ।’

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार