कोहलपुर नगरपालिकाकी उप–प्रमुख भन्छिन्, ‘मैले कुनैपनि भत्ता लिएकी छैन’



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीले कोभिड–१९ महामारीको विषम् परिस्थितिमा अनुगमन मुल्यांकन भत्ता नलिएको बताएकी बताएकी छन् । केहीदिन यता आफ्नो नाम जोडेर अनुगमन मुल्यांकन शीर्षकमा भत्ता बुझेको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएकी हुन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कोहलपुरको उप–प्रमुखको नाताले स्थानीय सरकारको विकास र समृद्धिको लागि संघीय सरकार र विभिन्न मन्त्रालयहरुमा योजना माग गर्ने तथा अन्य प्रयोजनका लागि नगरपालिकाका प्रमुख लुटबहादुर रावतको आदेश अनुसार भ्रमण खर्च लिएको जानकारी दिएकी छन् ।

विषय र शिर्षक परिवर्तन गरी एउटा शिर्षकमा भुक्तानी भएकोलाई अर्को शिर्षकमा जोडी मेरो चरित्र हत्या गर्ने काम भएको छ । कोभिड–१९ महामारीको विषम् परिस्थितिमा अनुगमन मुल्यांकन भत्ता बापत रु ५७ हजार २ सय ५० रुपैयाँ उप–प्रमुख सञ्जुकुमारी चौधरीले बुझेको भन्ने समाचारमा सत्यता छैन । मैले कतिपय अवस्थामा कार्यालयको कामको शिलशिलामा प्रदेश, संघीय सरकार र विदेश भ्रमण लगायतका ठाउँमा जाँदा पाउने दैनिक भ्रमण भत्ता समेत लिएकी छैन ।

उप–प्रमुख चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि एक अनलाइनमा उनीसहित कोहलपुरका प्रमुख लगायतका कर्मचारी र जनप्रतिनिधिले महामारीमा भत्ता बुझेको भन्दै समाचार प्रकाशित भएको थियो । उक्त विषयमा कोहलपुर नगरपालिकाले समेत पत्रकार सम्मेलनको आयोजना गर्दै स्पष्टिकरण दिइसकेको छ । शनिबार उनले विज्ञप्ति मार्फत केही मिडिया भ्रामक र निराधार समाचार प्रकाशित÷प्रसारित गरी आफ्नो सामाजिक व्यक्तित्व माथि नै प्रश्न चिन्ह खडा गराउन नियोजित रुपमा लागि परेको उल्लेख गरेकी हुन् ।

यस्तै उनले कोहलपुरका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, कर्मचारी र कर्मचारीसँग जोडिएर अनुगमन, मुल्यांकन भत्ताका नाममा भ्रष्टाचार र अनियमितता जस्ता विषयमा गम्भीर समाचारहरु प्रकाशित भइरहेको भन्दै नगर प्रमुखलाई वास्तविकता बुझ्नको लागि स्वतन्त्र र निष्पक्ष छानविन समिति बनाउन क्रियाशिलता देखाउन माग गरेकी छन् । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद तिवारीले पनि कोभिड–१९ महामारीको विषम परिस्थितिमा अनुगमन मुल्यांकन भत्ता आफूले पनि बुझेको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् ।

शनिबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै वडाध्यक्ष तिवारीले केही मिडियाहरु लागि परेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उक्त विज्ञप्तिमा मार्फत वडा नम्बर ५ को कार्यसमितिको निर्णय सिफारिस अनुसार नगरकार्यसमितिबाट निर्णय भई भ्रमण आदेश अनुसार नियम अनुसार रकम लिएको उल्लेख गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार