कालिकोटका पहिरो पीडितलाई राहत



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले विभिन्न दुर्घटना, पहिरो लगायतका कारण ज्यान गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । प्रदेश सरकारको लोकप्रिय कार्यक्रम सामुहिक दुर्घटना बीमा अन्र्तगत विभिन्न कारणले ज्यान गुमाएका नागरिकलाई बीमा बापतको रुपैयाँ दिन सुरु गरेको हो । कर्णाली सरकारले उक्त कार्यक्रम कालिकोट जिल्लाबाट सुरु गरेको छ ।

आइतबार मान्ममा एक कार्यक्रमका बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य विभागीय मन्त्रीहरुको सहभागितामा विपत् जोखिम सामुहिक बीमा कार्यक्रम अन्तर्गत बाढी पीडित राहत वितरण कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अवसरमा यस वर्ष कालिकोट जिल्लामा विभिन्न समयमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई बीमा बापतको राहत रकम प्रदान गरिएको थियो । सरकारले पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका आफन्तहरुलाई प्रतिव्यक्ति दुई लाखका दरले उक्त सहयोग हस्तान्त्रण गरेको हो । कालिकोटमा मात्रै यस वर्ष पहिरोमा परी ५१ जनाको मृत्यु भएको छ । भने केही अझै बेपत्ता छन् । उक्त कार्यक्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अब कोही पनि नागरिक असुरक्षित नरहने बताएका थिए ।

उनका अनुसार कर्णालीका नागरिक र कर्मचारीहरुको लागि सुरु गरिएको सामुहिक बीमा कार्यक्रम मार्फत विभिन्न कारणले मृत्यु वरण गरेका व्यक्तिका आफन्तले राहत पाउनेछन् । उनले चालु आर्थिक वर्षमा पहिलो पटक कालिकोट पहिरो पीडितलाई सहयोग गरिएको बताए । सोही कार्यक्रम अन्तर्गत मुख्यमन्त्री सहितको टोली साविकका कर्णाली अञ्चलका जिल्लाहरुमा पुग्नेछ । चालु आर्थिक वर्षको दुई महिनामा विभिन्न जिल्लामा गएको पहिरोका कारण कर्णालीका कालिकोट, जाजरकोट र रुकुम पश्चिम जिल्ला सबै भन्दा बढी प्रभावित भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २९ गते सोमबार