शुभाकर विश्वकर्मा । कोहलपुर
कोरोना कहर छ । अधिकांश मानिस फूर्सदिला भएका छन् । शहरमा हुने भीडभाड, कोलाहलदेखि टाढा रहन हरेक मान्छेले विकल्पको खोजि गरिरहेको छ । यस्तो बेलामा उपयुक्त हुने भनेको एकान्त, खोला नाला र प्राकृतिक शौन्दर्यमा रमाउने नै हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेका दाङ जिल्लाको बबई गाउँपालिकामा पर्ने पुरन्धारा झरना, धागे छहरा र चिसापानी मन्दिर क्षेत्रमा भने आन्तरिक पर्यटकको आर्कषण बन्न थालेको छ ।

दाङको बबई गाउँपालिका वडा नं. ४ मा रहेको धागे छहरा (बाँया) र वडा नं. ५ मा रहेको पुरन्धारा झरना (दायाँ) । तस्बिर : मिसन
केही वर्षदेखि मात्रै प्रर्वद्धन गर्न थालिएका ती स्थान कोरोना करहको छटपटि मेटाउने र रमाउने उपयुक्त गन्तव्य बन्न थालेका हुन् । कोरोनाका कारण शहरमा लकडाउन र निषेधाज्ञा भएपछि बबईका यी पर्यटकीय स्थल आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेका छन् । यी पर्यटकीय गन्तव्यहरुमा दैनिक सरदर २ सय जनासम्म पर्यटक छहरा र झरनामा रमाउनको लागि पुग्ने गरेका छन् । शहरको कोलाहलदेखि धेरै टाढा, सुन्दर हरियाली, मनोरम दृष्य, हरियाँ फाँट, जंगलको बीचमा अग्लो डाँडाबाट कलकल बग्ने झरना हरेक व्यक्तिको रोजाई बन्ने गरेको छ ।
चिनेका साथीहरुबाट त्यहाँको सुन्दरताका बारेमा जानकारी दिएका हाल बाँकेमा बस्दै आएका सल्यानका भूपेन्द्र कँवरको टोली शनिबार धागे छहरा र पुरन्धारा पुग्यो । उनी भन्छन्, ‘बाटोमा आउँदाका दुःख यहाँ आउँदा मेटिदो रहेछ । कति सुन्दर झरना, एकान्त ठाउँ अनि मनोरम दृष्य । मलाई स्वर्ग पुगेझै भएको छ ।’ उनका अनुसार २ घण्टाको अन्तरमा रहेको पुरन्धारा झरनाले पनि मनै लोभ्यायो । ६ जनाको समूहमा त्यहाँका पुगेका कँवर कोरोनाका कारण ६ महिना देखिको शहर बजारको ह्याङओभर सबै मेटिएको बताउँछन् । कोरोना कहरका बीच बाँके, सल्यान तथा दाङ कै अन्य क्षेत्रबाट आन्तरिक पर्यटकहरु आउने गरेका हुन् । यहाँको प्रमुख विशेषता भनेको प्राकृतिक सुन्दरता र अग्लो स्थानबाट तल झरिरहेको छहरा तथा झरना हो ।
धागे छहरासम्म जानको लागि र नहर निर्माणका लागि गाउँपालिकाले सहयोग गरेको छ । कुल ५ लाख लागतमा गत आर्थिक वर्षमा त्यहाँ सम्म पुग्नको लागि कच्ची बाटो, पिक्निक स्पट तथा नहर निर्माण गरिएको छ । योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंलाल खत्रीका अनुसार केही वर्षयता छहरा अवलोकन गर्न आउनेहरुको संख्या बढिरहेको छ ।
उनले भौगोलिक रुपमा केही विकट भएकोले गाउँपालिकाको सहयोगमा पर्यटक हिड्ने बाटो निर्माण गरिएको जानकारी दिए । ‘कोरोनाको समयमा झन् धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । अहिले हरियाली हुने भएकोले झन् बढेका छन् । टाढा टाढाबाट समेत आउँछन्’ उनले भने । त्यहाँका स्थानीयहरुको पहलमा ग्राभेलको लागि गाउँपालिकासँग आग्रह गरिरहेको उनको भनाई छ । यो बबई गाउँपालिकाको वडा नम्बर ४ मा पर्दछ ।
पुरन्धारा विकासको लागि डिपीआर
पुरन्धारा झरना बबईको महत्वपूर्ण पर्यटकीय स्थान हो । यसको वृहत्तर विकासको लागि गाउँपालिकाले डिपीआर समेत तयार गरिसकेको छ । विगत तीन वर्षयता भने प्रदेश सरकारले भौतिक संरचना निर्माण लगानी गर्दै आइरहेको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले पुरन्धारा विकासको लागिको लागि बृहत डिपीआर तयार भइसकेको जानकारी दिए । डिपीआर अन्तर्गत पुरन्धारासम्म पुग्नको लागि पक्की बाटो, मन्दिरमा रहेकोले दर्शन, गोरेटो बाटो, ठूलो ड्याम निर्माणदेखि स्विमिङ सम्म रहेको उनले बताए । अबको पाँच वर्षमा पुरन्धारा दाङ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास परिने उनको भनाइ छ ।
यहाँको विकासको लागि छ नम्बर प्रदेश सरकारले समेत निरन्तर सहयोग गरिरहेको छ । पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष २५ लाख गरेको उनले बताए । चालु आवमा समेत प्रदेशले निकै ठूलो सहयोग गरेको छ । अध्यक्ष पौडेलले दैनिक न्युनतम एक हजार जना भन्दा बढि आन्तरिक पर्यटकहरुले आउने गरेका छन् । यहाँ शनिबार सबै भन्दा बढि पर्यटकहरुले अन्य जिल्लाबाट समेत आउने गरेका छन् । कोरोना कहरका बीच समेत हजारौंको उपस्थिति रहेको उनले बताएका छन् ।
अहिले वर्षाको समय भएकोले केही कम भएका छन् । तर वडा नम्बर ४ मा रहेको धागे छहारा र वडा नम्बर ५ मा रहेको पुरन्धारामा झरना अवलोकन, पिक्निक तथा घुम्नको लागि दैनिक न्युनतम १ सयदेखि २ जना आउने गरेका छन् । ती क्षेत्रको हेरचाहको लागि गाउँपालिकाले कर्मचारीहरुलाई खटाउने समेत गरेको छ । बबईका यी दुई पर्यटकीय स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्दै गइरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्