सुदीप अधिकारी । बर्दिया ।
गिद्ध प्रकृतीका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वरपरको वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
तर, पछिल्लो समयमा यिनै प्रकृतीका कुचिकार मानिने गिद्धहरु लोप हुँदै गएका छन् ।
नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठूँडे, सानो खैरे, हिमाली, खैरो, राज र सुन गिद्ध गरी जम्मा ९ प्रजातीका गिद्धहरु रहेका छन् । जसमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध र सुन गिद्ध अति संकटापन्न अवस्थामा रहेका छन् । नेपालमा पाइने गिद्ध मध्ये डंगर गिद्ध भने पूर्णरुपमा लोप हुने अवस्थामा पुगेको पंछी संरक्षणकर्मीहरु बताउँछन् । ‘अन्य गिद्धहरु पनि लोप हुने अवस्थामा छन् । तर, डंगर गिद्ध भने निकै संकटमा परेको छ,’ बर्दिया प्रकृती संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाहीले भने । गिद्धहरु लोप हुँदै जानुमा पशुहरुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक नै प्रमुख कारण भएको अध्ययनले देखाएको छ ।
यो औषधी प्रयोग गरेर उपचार गरिएको पशु मरेमा त्यसको सिनो गिद्धहरुले खाने र त्यही कारणले मृगौलामा संक्रमण भएर गिद्धहरु मर्ने गरेको संरक्षणकर्मीहरुको भनाई छ । प्रकतिबाट गिद्धहरु विनाश भएमा सिनोबाट उब्जने रोगहरु हैजालगाएतका महामारी जन्य रोगहरुको प्रकोप बढ्ने खतरा निकै रहने स्वास्थ्यकर्मीहरुको भनाई छ । वन्यजन्तु, घरपालुवा तथा मावनलाई सिनोबाट उब्जन सक्ने विभिन्न प्रकारका रेबिज, बु्रस्रालोसिस र एन्थ्राक्स जस्ता रोगहरु फैलिने सम्भावना निकै रहने अध्ययनले देखाएको छ । गिद्धको बासस्थानका रुपमा मानिएको अग्ला सिमलका रुखहरु काटिनु पनि गिद्ध लोप हुनुको अर्को कारण मानिन्छ ।
खुला सिमाका कारण डाइक्लोफेनेक औषधी भारतबाट नेपाल भित्रदा गिद्ध संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीहरुको भनाई छ । हाल नेपालमा करिव १५ देखि २० हजार गिद्ध रहेको बताइन्छ । गिद्ध प्रकृतीको एक अभिन्न अंग रहको तर यो लोप हुँदै गएकोले यसको संरक्षणमा सबैले चासो देखाउने पर्नेमा संरक्षणकर्मीले जोड दिए । ‘गिद्ध वातावरणको अभिन्न अंग हो ।
यिनीहरु अहिले संकटमा छन् । सबै सरोकारवालाहरुले गिद्धको संरक्षणमा ध्यान दिनु जरुरी छ,’ बर्दिया प्रकृति संरक्षण क्लबका सचिब राजन चौधरीले भने । विगत वर्षको तुलनामा केही वर्ष यता भने गिद्धको संख्या बढ्दो क्रममा रहेको संरक्षणकर्मीहरु बताउँछन् । नेपालका विभिन्न ठाउँठाउँमा गिद्ध शुद्ध आहार केन्द्र स्थापना हुनु, जनस्तरमा चेतना बढ्दै जानु र सरकारले केही वर्ष अघि डाइक्लोफेनिक नामक औषधीमा प्रतिवन्ध लगाउनुले गिद्ध संरक्षणमा टेवा पुगेको बर्दिया प्रकृती संरक्षण क्लबका अध्यक्ष शाहीले बताए ।
अग्ला र गिद्ध वासस्थानका लागि उपयक्त रुखहरु कटानमा बन्देज, काल गतिले मरेका, विषादीमुक्त सिनाहरुलाई गिद्ध वासस्थान भएको क्षेत्रको खुला ठाउँमा फालेर गिद्ध संरक्षणमा सहयोग पुग्ने संरक्षणकर्मीहरुको भनाई छ । पछिल्लो समय लोपउन्मुख गिद्धहरु संरक्षणका लागि कैलालीको खुटीया, दाङको लालमटिया र बिजौरी, रुपन्देहीको कडौवाताल, नवलपरासीको पिठौली र कास्कीको घाटुकमा पनि गिद्ध शुद्ध आहार केन्द्र खुलेका छन् । चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरिएको छ ।
गिद्धको गणना
कर्णाली प्रदेशको जाजरकोटमा प्रकृतिको कुचिकारका मानिने गिद्धको गणना गरिएको छ । जिल्लाको नलगाड, भेरी, छेडागाड नगरपालिका र बारेकोट र कुशे गाउँपालिकामा गणना गरिएको हो । पंक्षी संरक्षण आजीवन सदस्य तथा बारेकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले एक महिना लगाएर गिद्धको गणना गरिएको जानकारी दिए । गिद्ध सँगै गुँडको समेत गणना गरिएको उनले बताएका छन् ।
‘विश्वमा दुर्लभ मानिने सुन गिद्ध ४, सेतो गिद्ध ६, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध ८ र राज गिद्ध २ वटा फेला परेको थियो’ उनले भने, ‘सुन गिद्धका एउटा, सेतो गिद्धका तीन वटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीन वटा गुँड भेटिए भने राज गिद्धको गुँड भेटिएन ।’ नेपालमा मात्र होइन विश्वभरी नै गिद्धहरु लोप हुँदै जान थालेका छन् ।
गिद्धहरु लोप हुँदै जानुमा पशुपन्छीमा डाइक्लोफेनेक औषधीको प्रयोग नै मुख्य कारण रहेको ठहर गर्दै नेपाल सरकार, औषधी ब्यवस्था विभागले २०६३ सालदेखि नेपालमा यसको उत्पादन, प्रयोग र बिक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । यसको उत्पादन, प्रयोग, बिक्रिवितरण, आयात निर्यात र भण्डारण गरेको पाइएका ३ वर्ष कैद वा ५ हजार रुपैंयाँ जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्