पूर्व कमलरीको कथा, ‘गिता मकै पोल्छिन्, दुःखले उनको मन पोल्छ’



शुभाकर विश्वकर्मा । कोहलपुर ।

पालतो शरिर, निन्याउरो अनुहार अनि उनले फाटेकै एकसरो कुर्ता सुरुवात लगाएकी हुन्छन् । जसको दैनिकी कोहलपुरका गल्ली चहार्दै बित्छ । के टन्टलापूर्ण घाम, के वर्षायाम । न भोक त निद्रा रहेक दिन बिहान चार बजेबाट उनको कर्म सुरु हुन्छ । बिगत १५ वर्षदेखि यस्तै संघर्ष गर्दै आएकी एक यही समाज की पात्र हुन्, बाँकेको कोहलपुर–११ गिता थारु ‐३३) । जो पूर्व कमलरी हुन् । उनको परिवार बाँकेको कोहलपुर–११ को मुक्त कमैया बस्तीमा बस्दै आएको छ । उनी भन्छिन्, ‘बिहानै चार बजे उठ्छु ।

मकै लिन गाडिमा दाङसम्म पुग्छु । दिउँसो खाना खान्छु । अनि बजार निस्कन्छु । साँझ अध्यारो नहुँदासम्म घर फर्किन्छ ।’ उनी दैनिक १५ घण्टा बढि श्रम गर्छिन् । जुन उनको दैनिक समय तालिका जस्तै हो । उनले कोहलपुरमा मकै पोलेर जिविकोपार्जन गर्न थालेको मात्रै दुई दशक बित्न लाग्यो । दैनिक मजदुरी थारुको परिवारको जिविकोपार्जनको स्रोत हो । आफ्नो गिताको बाँच्ने आधार नै मकै पोल्ने र बिक्रि गर्ने काम भएको उनको भनाई छ । उनको चार जनाको सानो परिवार छ । श्रीमान् राम लहुटन कार्पेन्टरको काम गर्छन् । उनी मकैको व्यापार गर्छिन् । दुई जना छोरा छन् । अहिले संघर्ष गरिरहेकी छिन् ।

त्यही संघर्षले फरक परिचय दिएको छ ‘मकैवाली’ को । जसले कुनैबेला पाँच वर्ष कमलरीको रुपमा काम गरेकी थिइन् । १३ वर्षको सानो उमेर मै मागि विवाह गरेकी उनले सानै देखि दुःख भोग्दै आइरहेकी छिन् । विवाह गर्दा श्रीमान पनि सानै थिए । घरमा बृद्ध सासुससुरा । उनीहरुको पालनपोषणको जिम्मा थारु दम्पतिको नै थियो । गिताले घरको ऋण तिर्न साहूको घरमा कमलरी बस्नु प¥यो । घरको ऋण चुक्ता गर्न उनी पाँच वर्ष कमलरी बसिन् । सरकारले कमलरी मुक्तिको घोषणा गरेपछि उनी पनि मुक्त भइन् । सरकारले कमलरी मुक्तिको परिचय दियो । एक लाख रुपैयाँ समेत पाइन् ।

उनले त्यही रुपैयाँले कोहलपुर–सुर्खेत खण्ड अन्तर्गत सडक छेउमै रहेको एैलानी जग्गामा घर बनाएको बताइन् । त्यसपछि सरकारबाट कमलरीलाई प्राप्त हुने केही पनि सहयोग उनले पाएकी छैनन् । संघर्षका दिन सम्झिदै उनी भन्छिन्, ‘कमलरी बस्दा कामको दुःख हुन्थ्यो । पछि त झन् खान लाउनको साह्रै कष्ट भोग्नु प¥यो । केही पार नलागेपछि सडक छेउमा मकै पोलेर बेच्न थाले ।’ एकातिर सुत्केरी अर्कातिर तराईको गर्मी । बिहानदेखि साँझसम्म कामको चाप परेपछि बिरामी परिन् । अत्यधिक गर्मी र आगोको तापका कारण आफू बिरामी परेको उनले बताइन् । श्रीमानले ऋण जोहो गरेर उपचार गराए ।

छोरा विजय हुर्कदै थिए । गिता बिरामी परेपछि ऋण थपियो । ऋण तिर्न फेरी पनि गिता मकै पोलेर बेच्ने काम गर्न थालिन् । काम राम्रो चलिरहेको थियो । तर गत चैत्र महिनामा सरकारले कोरोनाका कारण लकडाउन घोषण परेपछि काम बन्द भयो । ५ महिना बिना काम घर मै थुनिएर बसेको उनले बताइन् । त्यो भन्दा अघि उनी दैनिक न्युनतम १ हजार देखि १५ सय रुपैयाँसम्म कमाउँदै आएकी थिइन् । महिनामा न्युनतम २० देखि ३० हजार सम्म कमाई हुन्थ्यो । वर्षेनी खर्च चलाउन, छोराहरुको पढाई र अन्य यसैबाट चलिरहेको थियो । तर बीचमा कोरोनाका कारण काम रोकिएपनि अहिले पनि फेरी काम सुचारु भएको छ ।

पहिला बाटो मै मकै पोल्दै गुजारा जलाउने उनी अहिले ठेलागाडामा मकै पोल्ने काम गर्छिन् । ‘वर्षौ भयो, मकै पोल्ने काम गर्न थालेको । तर कहिल्यै सुख भएन । आगोको रापमा म मकै पोल्छु । तर दुःखको रापले मेरो मन पोल्छ । यस्तै छ हजुर ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् । अझै कतिसम्म मकै पोलेर चलाएर जीवन गुजारा गर्नुपर्ने हो । १५ वर्ष सडकका छेउमा मकै पोलिन् । खर्च पनि यसैबाट चलिरहेको थियो । कोरोनाले ६ महिना काम रोकियो । यही बीचमा ठेला खरिद् गरिन उनले । अहिले त्यही ठेलामा मकै बेच्दै आएकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार