8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बाँकेमा एकैदिन थपिए ६० जना संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७  

नेपालगञ्ज ।

बाँकेमा एकैदिन थप ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई पीसीआर ल्याव गरिएको परीक्षणको क्रममा एकैदिन यती धेरैमा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको ल्यावमा परीक्षण गर्दा ५७ जना र वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

१९ जना महिला र ४१ पुरुष गरी ६० जनामा कोरोना संक्रमण देखिएको उनले बताए । शुक्रवार पुष्टि भएकामध्ये सबैभन्दा बढी नेपाल प्रहरीहरु रहेका छन् । कोरोना स्रोत व्यक्ति श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका २१ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्का अनुसार संक्रमितहरु प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् ।

सुरुमा कार्यालयमा राखिएका एक जना थुनुवामा कोरोना संक्रमण भएपछि मुद्दा फाँटका प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमित प्रहरीको कन्ट्याक्ट टे«सिङका आधारमा थप प्रहरीमा पनि संक्रमण पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

त्यसैगरी नेपालगञ्जस्थित बाणिज्य बैंकका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । धम्बोझीमा रहेको बैंकको शाखाका पाँच कर्मचारीमा कोरोना पुष्टि भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बैंकका प्रदेश ५ का प्रादेशिक प्रमुख आनन्द सुवेदीका अनुसार धम्बोझी शाखाका २५ जनाको स्वाब परीक्षण गर्दा फ्रन्टलाइनमा बस्ने ५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये दुई महिला र ३ पुरुष रहेका छन् ।

शुक्रवार थप ६० जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या एक हजार एक सय ९९ जना पुगेको छ । तीमध्ये ८ सय ३ जना भने कोरोना जितेर घर फर्किसकेका छन् ।

कोरोना स्रोत व्यक्ति श्रेष्ठका अनुसार कोरोना जित्नेहरुमा १ सय ५९ जना महिला र ६ सय ४४ जना पुरुष हुन् । जिल्लामा कोरोना संक्रमणका कारण अहिलेसम्म तीन महिला र तीन पुरुष गरेर ६ जनाको मृत्यु भइसकेको छ ।

अहिले जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९० जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७     11:31:54 AM  |