बाँकेमा कोरोना संक्रमितका लागि प्रभावकारी बन्दै ‘रेम्डेसिभिर’ औषधि



शुभाकर विश्वकर्मा । कोहलपुर ।

गम्भिर खालका कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिएको ‘रेम्डेसिभिर’ नामक औषधि प्रभावकारी देखिएको छ ।

पश्चिम नेपाल मै पहिलोपटक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमितलाई प्रयोग गरिएको ‘रेम्डेसिभिर’ औषधि प्रभावकारी देखिएको हो ।

भदौ १६ गते अस्पतालमा उपचाररत एक गम्भिर कोरोना संक्रमितलाई औषधि प्रयोग गरि उपचार सुरु गरिएको थियो ।

चार दिनको अवधिमा उक्त औषधिले संक्रमितको स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । नेपाल सरकारले समेत ट्रायल रिसर्चको लागि अनुमति दिएको ‘रेम्डेसिभिर’ औषधिले राम्रो काम गरेको उनीहरुको भनाई छ ।

कोहलपुरमा यस खालको नयाँ प्रकारको उपचार विधिबाट संक्रमितको उपचारमा संलग्न डाक्टर श्याम विकका अनुसार अन्य विधिबाट उपचार गर्दा कुनै पनि सुधार नदेखिएका संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि प्रयोग गरेपछि निकै सुधार आउन थालेको छ । भदौं १५ गते साँझ अस्पताल भर्ना भएका ती संक्रमित स्वास फेर्न गाह्रो हुने र लगातार खोकी लाग्ने समस्या थियो ।

अस्पतालमा निरन्तर अक्सिजन दिदाँ समेत सुधार आएको थिएन । पछि एक पुरुष संक्रमितलाई उक्त औषधि प्रयोग गर्दा चार दिनमा निकै सुधार आएको डाक्टर विकले बताए । ‘रेम्डेसिभिर औषधि प्रयोग गर्दा उहाँ भेन्टिलेटरमा हुनुहुन्थ्यो । स्वास्थ्यमा अपेक्षाकृत रुपमा सुधार हुन सकेको थिएन । तर अहिले आफै हिड्न सक्ने हुनुभएको छ । शौचालयसम्म आफै जानुहुन्छ’ उनले भने ।

पहिलो पटक रेम्डेसिभिर अर्थात् एन्टि भाइरल औषधि प्रयोग गरिएका संक्रमित बिशालनगर– ३ धनगढी हुन् । उनी हाल नेपालगञ्ज बस्दै आएका छन् ।

प्रत्येक दिन कोरोना संक्रमित थपिरहेका बेला पहिलो प्रयास नै सफल देखिएपछि आफूहरु निकै आशावादी रहेको उनले बताए । अहिले ती संक्रमितमा स्वास फेर्ने र खोकी लाग्ने समस्या समाधान हुँदै गइरहेको छ । डाक्टर विकले थप दुई जना महिला र पुरुष संक्रमितलाई पनि उक्त औषधि प्रयोग सुरु गरिएको जानकारी दिए । उनीहरु दुवै जना बाँके जिल्ला कै हुन् ।

दुवैजनामा कोरोनामा गम्भीर खालको लक्षण छ । यो औषधि गम्भिर खालका कोरोना संक्रमित विरामी र अक्सिजन लगाएको भएपनि यसको मात्रा नपुगेका तर भेन्टिलेटरमा नभएकालाई पाँच दिनसम्म दिइन्छ ।

गम्भिरका खालका संक्रमित र भेन्टिरलेटरमा राखिएका संक्रमितलाई १० दिनसम्म औषधि दिइने चिकित्सकहरु बताउँछन् । पहिलो पटक एन्टि भाइरल औषधि अर्थात रेम्डेसिभिर औषधि प्रयोग गरिएका संक्रमितलाई चार पटक प्रयोग भइसकेको डा. विकले बताए ।

‘पछिल्ला दुई जनालाई भने दुई/दुई पटक मात्रै प्रयोग गरिएको छ । संक्रमितको अवस्था हेरेर औषधि प्रयोग हुन्छ । सुधार देखिदै गयो भने कम गर्दै जान्छौ । नत्र भने डोज पु¥याउनैपर्छ’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने ।

यो औषधि विश्वमा निकै विश्वसनीय देखिएको छ । यो औषधिको प्रयोगबाट मृत्युदरमा समेत कमि आएको तथ्यांकले देखाउँछ । यो कोरोना नामक भाइरसलाई कुनै पनि व्यक्तिमा शरिरमा बृद्धि, विकास हुनबाट रोक्ने एक प्रकारको औषधि हो ।

यसलाई एन्टी भाइरल औषधि पनि भनिन्छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, मेडिसिन विभागका ऐसिस्टेन्ट प्रोफेसर तथा वरिष्ठ फिजिसियन समेत रहेका डा. विकले हाल अस्पतालमा २३ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।

ती मध्ये ११ जनालाई आइसियूमा राखिएको छ । अन्य चाहि सामान्य वार्डमा उपचाररत छन् । एक जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २० गते शनिबार