करारमा स्वास्थ्यकर्मी



प्रदेश सरकारले आफुले सञ्चालन गरेका कोरोना बिशेष अस्पतालका लागि करारमा स्वास्थ्यकर्मी नियुक्ती गर्ने निर्णय गर्नुका साथै ती अस्पतालमा पूर्वाधार विकास गर्ने समेत निर्णय गरेको छ । बैठकले चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

कोहलपुर ।

प्रदेश नम्बर ५ का कोरोना विशेष अस्पतालहरुमा जनशक्ति थपिने भएको छ । प्रदेश सरकारले सञ्चालन गरेका कोरोना विशेष अस्पतालहरुमा जनशक्तिको चरम अभाव भएपछि करारमा नियुक्तिको तयारी गरिएको हो । बिहीवार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले एकैपल्ट यतिधेरै स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मी नियुक्तिका लागि ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ समेत बैठकले निकासा गरेको छ ।

यो रकम करारमा नियुक्त हुने स्वास्थ्यकर्मीको तलब भत्तामा खर्च गरिने छ । प्रदेश सरकारले अहिले सञ्चालन गरेका कोरोना बिशेष अस्पतालहरुमा आईसीयू सञ्चालनमा समेत स्वास्थ्यकर्मी उपलब्ध छैनन् । गम्भिर खालका कोरोना संक्रमित थपिन थालेपछि प्रदेश सरकारले करारमा धेरै स्वास्थ्यकर्मी भर्ना गर्न लागेको हो ।

बैठकले भेरी अस्पताल नेपालगञ्ज बाँकेमा १ करोड ४० लाख ७२ हजार ६ सय ४०, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि १ करोड ७५ लाख ११ हजार ९ सय ६०, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङमा १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भीम अस्पताल भैरहवामा ६४ लाख ४७ हजार ९ सय ६० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० रुपैयाँ निकासा गर्ने निर्णय समेत गरेको थियो । निकासा गरिएको रकमले करारमा नियुक्त स्वास्थ्यकर्मीलाई तीन महिना तलबभत्ता दिन पुग्छ । मन्त्रिपरिषद् बैठकले चार कोरोना विशेष अस्पतालमा पूर्वाधार विकास गर्ने समेत निर्णय गरेको छ ।

भेरी अस्पतालमा आईसीयु १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र यहाँ १५२ जना स्वास्थ्यकर्मी र लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानाको क्षमता बृद्धि गरी आइसीयु १८, आइसोलेन वेड ३६, एचडि बेड २० गरी कुल ७४ बेड गराइनेछ । यहाँ १८९ जना स्वास्थ्यकर्मी रहनेछन् । यस्तै, केन्द्रीय आयुर्वेद दाङमा आइसीयु १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने र यहाँ १७१ स्वास्थ्यकर्मी राखिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यस्तै, भीममा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ रहने र यहाँ ७१ जना जनशक्ति राख्ने निर्णय गरिएको छ । प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिएको छ । जसमा स्वास्थ्य सेवा तर्फका ७२ र इञ्जिनियरिङतर्फका ५३ जना छन् । इन्जिनियरिङतर्फ हाइवे सिभिल १८, सेनेटरी १ विल्डिङ आर्किटेक्टर १३, जनरल सिभिल ५, मेकानिकल ५, इन्जिनियर सिभिल २, सिंचाई ८, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना छन् । स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जना छन् ।

प्रदेश सरकार बनेपछि पहिलोपल्ट प्रदेश लोकसेवाबाट कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइएको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत प्रदान गरेको छ । विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै, प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १९ गते शुक्रबार