सुदीप अधिकारी । बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिका–८ को एक सामुदायिक वनमा परापूर्वकालको एक दरबारशैलीको भग्नावशेष फेला परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दुध्धा सामुदायिक वनमा सयौँ वर्ष पुरानो एक दरबारको भग्नावशेष भेटिएको हो ।
भग्नावशेष भएको क्षेत्रलाई स्थानियबासीले परापूर्वकालदेखि नै कन्या राजाको दरबार भएको क्षेत्र भन्दै आएका छन् । तर कन्या राजा को हुन् भन्ने बारे स्थानिय अनभिज्ञ छन् । स्थानिय बुढापाकाहरुले बाउबाजेको पुस्तौदेखि नै उक्त भग्नावशेष कन्या राजाको दरबार क्षेत्र भएको सुन्दै आएको बताएका छन् । यो भग्नावशेष निकुञ्जसँग जोडिएको दुध्धा सामुदायिक वनको अग्लो टापुमा छ । भग्नावशेष करिव ४ हेक्टर क्षेत्रफलमा छ । बारबर्दिया नगरपालिका अन्र्तगत पर्ने पूर्वपश्चिम राजमार्गको थानफेन भन्ने स्थानबाट करिव २ किलो मिटर उत्तरतर्फ रहको सामुदायिक वनको टाकुरोमा भग्नावशेष रहेको छ ।
उक्त क्षेलाई स्थानियले कन्या राजा, बसाहा बर्डा क्षेत्र भन्दै आएका छन् । अहिले उक्त क्षेत्रमा परम्परागत शैलीका माटोका पक्की इटाहरु यत्रतत्र छरिएका छन् । इटाहरु परम्परागत शैलीका चेप्टो र पातलो आकारका छन् । केही इटाहरु जमिन माथी नै छन् । भने केही माटो र झारपातले पुरिएको अवस्थामा छन् । भग्नावशेष भएको ठाउँमा करिव ५०÷६० वर्ष अघि दरबार शैलीको घरको कोठैकोठासहितको जग पनि प्रष्टै देखिने गरेको ६५ वर्षीय स्थानिय वृद्ध फुलराम थारुले बताए ।
अहिले घरको जग देखिदैन । अहिले जग माटोले पुरिएको स्थानियको भनाई छ । पुरानो स्मरण सुनाउँदै स्थानिय ६० वर्षीय फुलराम थारु भन्छन्, ‘हामी सानो छदा त्यहा बस्तुभाउ चराउन जान्थ्यांै । त्यतीबेला त्यहा रुख बुट्यान केही थिएन । मैदान थियो । दरबार शैलीको कोठैकोठा भएको घरको जग प्रष्टै देखिन्थ्यो । पुरानो शैलीको इटाहरु यत्रतत्र छरिएका हुन्थे ।’ बाउबाजेको भनाई उद्धृत गर्दै स्थानिय वृद्ध फुलराम भन्छन्, ‘बाउबाजेले त्यो स्थानलाई कन्या राजाको दरबार भएको भन्थे ।
उनीहरुले पनि पुर्खाबाटै सुनेको रे । राजा अविवाहित भएकाले कन्या राजा भनिएको हो रे ।’ कन्या राजा को हुन्, कहाँबाट आएका हुन् भन्नेबारे कसैलाई थाहा छैन । उक्त क्षेत्रमा धेरै पछिसम्म पनि विभिन्न प्रकारका देविदेवताका मूर्ती समेत रहेको स्थानिय वृद्ध अंगानु थारुले बताए । जसमा बसाहा(साँढे)को मूर्तीसहित विभिन्न देवीदेवताका टुटेफुटेका मूर्तीहरु सानो छदा आफुहरुले प्रत्यक्ष देखेको स्थानिय बुढापाकाहरु बताउँछन् । पहिले त्यहाँ बहुमूल्य धातुका मूर्ती पनि रहेको र ती मूर्तीहरुलाई भारतबाट आएका तान्त्रीकहरुले लगेको स्थानिय लिखराम थारुले बताए । भग्नावशेष भएको स्थानमा अहिले पनि गहिरो कुवा आकारको खाल्डो देख्न सकिन्छ ।
धेरै वर्ष पहिले केही मानिसहरुले यसै स्थानबाट चाँदीको सिक्काले भरिएको गाग्रोसमेत फेला पारेको स्थानिय वृद्ध फुलाराम थारुले सुनाए । यो स्थान पुरातात्विक महत्वको स्थान भएको स्थानियको अनुमान छ । उक्त क्षेत्रका बारेमा अध्ययन् गरि उत्खनन् गरिए वास्तविकता पत्ता लाग्ने स्थानियबासीको भनाई छ । उक्त क्षेत्रका बारेमा हालसम्म कसैले पनि चासो नदिएको स्थानियबासी बताउँछन् । स्थानियको अनुरोधमा प्रदेश नं ५ का प्रदेश सांसद तिलकराम शर्मा, स्थानिय जनप्रतिनिधी, निकुञ्ज कर्मचारीसहितको टोलीले मंगलबार उक्त क्षेत्रको अवलोकन गरेका छन् । स्थानियबासीको भनाई र त्यहाँ देखिएको भग्नावशेषका आधारमा उक्त क्षेत्र एतिहासिक तथा पुरातात्विक महत्वको हुन सक्ने प्रदेश सांसद तिलकराम शर्माले बताए । उक्त क्षेत्रको अध्ययनका लागि तत्काल पहल गर्ने शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्