बन्दै लामो दुरीको बसपार्क, नेपालकै नमूना बसपार्क बन्ने नगरपालिकाको दाबी



डिल्ली शाही । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले लामो दुरीको नेपालकै नमूना बसपार्क बनाउने भएको छ । कोहलपुर नगरपालिकाले ४५ करोडमा लामो दुरीको नेपालकै नमूना बसपार्क बनाउन लागेको हो । पहिले यसलाई ५३ करोडमा निर्माण गर्ने भनिएकोे थियो । त्यसको लागि कोहलपुरको नगरपालिकाको आन्तरिक श्रोतबाट नपुग्ने भएपछि लगभग ८ करोड कम हुने देखिएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाको चौराहा नजिकै रहेको अत्याधुनिक सुविधा सहित लामो दुरीको बसपार्क निर्माण हुने स्थान

कोहलपुर नगरपालिका प्रमुख तथा कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहेका लुट बहादुर रावतले कोहलपुर नगरपालिका र नगर विकास समिति बीच २५ वर्षका लागि लिज सम्झौता गरिएको बताए । उनका अनुसार सम्झौता भएपछि नगर विकासको ऋण सहयोगबाट कोहलपुर नगरपालिकाले नेपालकै नमूना बसपार्क बनाउने प्रक्रिया शुरु भएको हो । कोहलपुर नगर विकास समितिको बोर्ड बैंठकले कोहलपुर नगरपालिकालाई २५ वर्षका लागि लिजमा दिने भनी निर्णय समेत गरिसकेको छ ।

सोही निर्णय अनुसार कोहलपुर नगर विकास समितिसँग कोहलपुर नगरपालिकाले सम्झौता गरेको हो । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्र्तराष्ट्रि«य बसहरु समेत सञ्चालन हुनेछन् । ‘नगरपालिकाको मात्रै लगानी कम हुने देखियो । पहिलो र दोस्रो चरण गर्दा समेत आर्थिक समस्या हुने भएपछि नगर विकास समितिसँग सम्झौता गरिएको छ । केही वर्षमा अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण हुन्छ’ प्रमुख रावतले भने । यहाँ अब बन्ने बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत बिद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्सको समेत व्यवस्था हुनेछ ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले कोहलपुर नगरपालिकाले बनाउन लागेको अत्याधुनिक बसपार्कबाट आन्तरिक आय श्रोत बढ्ने बताए । यहाँ बनाइएका सटर, सपिङ कप्लेक्स, बसपार्क पाकिङ्ग तथा अन्य विभिन्न आय श्रोतले कोहलपुरको आर्थिक रुपमा निकै अगाडि बढ्ने उनको भनाई छ । उनका अनुसार यहाँका स्थानीयहरुलाई आवागमनमा सरल र सहज
हुनेछ । लामो दुरीको नेपाल कै नमूना बसपार्क अब यहि महिना अथवा असोज महिनामा टेण्डर गरी काम तीव्र रुपमा अगाडि बढ्ने उनले बताए ।

नगर विकास कोष काठमाण्डौका इन्जिनियर नविन तिवारीले बसपार्क र सपिङ्ग कम्प्लेक्सको रुपमा डिजाइन गरिएको बताए । तिवारीका अनुसार जसमा तिन वटा प्लेटफर्म राखिएको छ । जसमा लामो दुरीको लागि, स्थानीय बसहरुका लागि हुनेछन् । यस्तै अटो, इ—रिक्सा, प्राइभेट गाडिहरु पाकिङ्ग राख्न मिल्ने गरी तिन वटा प्लेटफर्म तयार गरिनेछ । जसको बीचमा ५ तलाको सपिङ्ग कम्प्लेक्स बनाइनेछ । त्यसको वरीपरी सटरहरु हुनेछन् ।

चोराहादेखि थोरै केही मिटर अगाडि बायाँबाट मुख्य गेट बनाइनेछ । जसमा इन्ट्रि गर्ने र बाहिर आउने बाटो फरक हुन्छ । अर्को बाटो भनेको कोहलपुर चौराहादेखि चप्परगौडि जानेबाटोको दायाँबाटो बाहिर जानका लागि आपत्कालिन ढोका बनाइएको तिवारीले बताए । लामोदुरीको बसपार्कमा बसहरु २४ वटासम्म राख्न सकिने व्यवस्था मिलाइएको भने त्यसमा छ वटा कम्पार्टहरु राखिएको छ । एउटा कम्पार्टमा ४ वटा गाडिहरु राख्न सकिने व्यवस्था मिलाइएको छ ।

उनका अनुसार प्रत्येक वर्षमा जिल्लामा दररेटहरु घट्ने र बढ्ने कम हुन्छ । सोही अनुसार हामीले बनाएको स्टिमेटमा ५३ करोड थियो । तर स्थानीय सरकारलाई उक्त पैसा दिन ग्राहो हुन सक्छ त्यसैले त्यहाँ ५ तलाको सपिङ्ग कम्प्लेक्स रहेको छ त्यसलाई कम गर्न सकिन्छ । यसलाई क्रमागत रुपमा राखेर विकास गर्न सकिने पनि उनले बताए । बसपार्क निर्माण कार्य पहिलो र दोस्रो चरण गरि निर्माण हुनेछ । कोहलपुर नगरपालिकाले माग भए अनुसार काम अगाडि बढ्ने नगर विकास कोषका इन्जिनियर तिवारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १८ गते बिहीबार