कोहलपुरमा थपिदैं आइसोलेसन



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर, २ प्रेमनगरमा आइसोलेसन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । नगरपालिकाका कोरोना संक्रमित व्यक्तिहरुलाई राख्नको लागि कोहलपुर नगरपालिकाले आइसोलेसन निर्माण कार्य तीव्र रुपमा अगाडि बढाएको हो । प्रेमनगरस्थित पतञ्जली सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको भवनलाई कोरोना संक्रमणको लक्षण नभएका संक्रमितको लागि प्रयोग गरिनेछ ।

पछिल्लो समय कोहलपुरमा कोरोना संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि व्यवस्थापनको लागि साउन २७ गते यता उक्त आइसोलेसनका लागि योग एवम् प्राकृतिक स्वास्थ्य समाजले पूर्वतयारीका काम गरिरहेको छ । यस अघि कोहलपुरको पिपिरीस्थित कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा आइसोलेसन बनाइएको थियो । अहिले कोहलपुर मै होटल अतिथिमा समेत आइसोलेसन सेन्टर बनाइएको छ । उक्त आइसोलेसन सेन्टर भने अबको एक सातामा प्रयोगमा ल्याउने गरि काम भइरहेको हो ।

आइसोलेसन पूर्वतयारीको लागि जिम्मा लिएको योग एवम् प्राकृतिक स्वास्थ्य समाजका अध्यक्ष नमप्रसाद शर्र्माले योग तथा प्राकृतिक माध्यमबाट बिरामीको उपचार गर्न लागि निर्माण गरिएको अस्पताललाई अहिलेको विषय परिस्थितिसँग जुध्नको लागि आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिने बताए । उनका अनुसार कोहलपुर नगरपालिकासँगको सहकार्यमा समाजले एक सातामा सम्पूर्ण तयारी पूरा गर्ने गरी काम गरिरहेको हो । आइसोलेसन निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको पनि उनले बताए । बाँकी काम केही दिनमा सकेर प्रयोगमा ल्याउन सकिनेछ ।

कुल २४ कोठा रहेको भवनमा १४ वटा कोठामा संक्रमितहरुलाई राखिनेछ भने अन्य कोठामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई राखिने उनको भनाइ छ । समाजका सचिव दामोदर पौडेल आइसोलेसन निर्माणको लागि अहिले सम्मको खर्च सबै समाजले नै व्यवहोरेको बताउँछन् । आइसोलेसन सेन्टर निर्माणको लागि अहिले सम्म २३ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । लक्षण नभएका संक्रमित राखिने उक्त आइसोलेसन पूर्ण रुपमा सञ्चालनमा ल्याउनको लागि ३० लाख खर्च हुने जानकारी दिए ।

‘अहिले युद्धस्तरमा काम भइरहेको छ । अबको केहीदिनमा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुन्छ । सुविधासम्पन्न साइसोलेन सेन्टर बन्दैछ’ उनले भने । अहिले कोठाहरुमा टाइल बिछ्याउने, वाइरिङ गर्ने, जिब्सम, प्लम्बिङ, सेप्टिट्यांकी निर्माण, नेट स्टिल हाल्ने, शौचालय निर्माण लगायतका काम भइरहेका छन् । त्यहाँ महिला तथा पुरुष कोरोना संक्रमितको लागि छुट्टै शौचालय, नुहाउने कोठा, इन्टरनेट तथा खेल मैदानको व्यवस्था गरिएको छ । आइसोलेसनमा संक्रमितहरुले प्रयोग गर्ने बेडहरुको लागि स्वास्थ्य सेवा प्रा.लि.ले १६ लाख बराबरको सामग्री सहयोग गरेको उनले बताए ।

कोहलपुरमा अहिले कोरोना पोजेटिभ देखिएका २० जना संक्रमित होटल अतिथिमा उपचाररत छन् । अन्य ११ जनाको भने जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । बृद्ध संक्रमित तथा सिरियस अवस्थाका संक्रमितलाई भने अहिलेसम्म खजुरा प्रखर क्यान्सर अस्पतालको आइसोलेसन सेन्टरमा पठाउने गरिएको कोहलपुर नगरस्वास्थ्य प्रमुख डिल्लीराज पोखरेलले बताए । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले योग एवम् प्राकृतिक स्वास्थ्य समाजले निर्माण कार्य गरिरहेको र खर्च भने नगरपालिकाले नै व्यहोर्ने बताए ।

उनले पनि आइसोलेसन सेन्टर अबको एक सातामा पूर्ण रुपमा सञ्चालनमा आउने बताए । ‘कोहलपुरमा संक्रमित बढिरहेका छन् । हामीले संक्रमितलाई कुनै पनि असुविधा होस भनेर समय लगाएर आइसोलेसन निर्माण गरिरहेका छौ । संक्रमितलाई पूर्ण सुविधा प्रदान गरिनेछ । सबैलाई जना सचेत भएर अघि बढ्नेको विकल्प हामीसँग छैन ।’ मिसन टुडे दैनिकसँग टेलिफोनमा कुराकानी गर्दै उनले बताए । कोहलपुर नगरपालिकाले अहिले सम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि पौने ३ करोड रुपैयाँ खर्च गरेको छ ।
८५ वर्षीय बृद्धले जिते कोरोना
शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर ५ का एक बृद्धले कोरोना जितेका छन् । नगरस्वास्थ्य प्रमुख डिल्लीराज पोखरेलका अनुसार वडा नम्बर ५ का ८५ वर्षीय चुरासिंह ओलीले शुक्रबार कोरोना संक्रमण जितेका हुन् । शुक्रबार उनी सहित कोहलपुरस्थित होटल अथिति आइसोलेनमा रहेका ४ जनाले पनि कोरोना जितेर घर फर्किएको उनको भनाइ छ । कुल ५० जनाको क्षमता रहेको उक्त आइसोलेसनमा अहिले २० जना संक्रमित स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको उनले बजानकारी दिए । बिहिवार सम्मको तथ्यांक अनुसार कोहलपुरमा कुल ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ६५ जनाले कोरोनालाई जितिसकेका छन् । कोहलपुर तथा जिल्लाका अन्य आइसोलेसनमा गरि कोहलपुरका मात्रै ३१ जना संक्रमितको उपचार भइरहेको छ ।

पछिल्ला केही सातायता दैनिक कोरोना संक्रमण पुष्टि भइरहेको कोहलपुरमा साउन १५ गतेसम्म जम्मा २१ जना मात्रै कोरोना संक्रमित थिए । साउन १५ देखि भाद्र १२ गतेसम्मको करिब एक महिनाको अवधिमा मात्रै ६८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । ‘यो डरलाग्दो अवस्था हो । अहिले समुदायस्तरमा केसहरु देखिरहेका छन् । अझै जोखिम छ । स्वास्थ्य सावधानी नै अहिलेको आवश्यकता हो’ उनले भने । कोहलपुरमा अहिलेसम्म ९ सय २५ जनाको आरडीटी र १ हजार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार