कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का विभिन्न बस्तीमा रहेका अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बुधबार समाज सेवा संस्था नेपालको आयोजनामा शहरी स्वास्थ्य केन्द्रका प्रमुख सुधन बुढाथोकीको सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड—१९)कोरोना भाइरसका कारणले अपांगता भएका व्यक्तिहरुलाई स्थानीय सरकारबाट कुनै प्रकारको सहयोग नमिलेको वडा नम्बर १४ का स्थानीय सिर्जना टोलका एक अपांगता भएका व्यक्ति सेते कामीले बताए । उनका अनुसार अहिले सम्म स्थानीय सरकारले कुनै पनि सहयोग गरेको छैन । एक व्यक्तिको माध्यमबाट स्वास्थ्य सुरक्षा पाएपछि उनी निकै खुसी भएका थिए । उनी सहित अन्य ४० जना अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले स्वास्थ्यमा सुधार गर्न बानी बसाल्नका लागि जनचेतनासँगै सामग्री वितरण गरिएको जानकारी दिए । ‘वडा नम्बर १४ का ४० जना व्यक्तिलाई सामग्री वितरण गरेका छौ । लकडाउन तथा निषेधाज्ञानको समयमा सजिलो होस भनेर वितरण गरिएको हो’ उनले भने ।
यस्तै शहरी स्वास्थ्य केन्द्रका प्रमुख बुढाथोकीले विपत्को समयमा अपांगता भएका व्यक्तिहरुलाई स्थानीय सरकार र अन्य अरोकारवालाहरुले सहयोग गरेको देखेपछि आफूले सहजताका लागि स्वास्थ्य सामग्री सहयोग गरेको बताए । उनकै उपस्थितिमा स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको थियो ।
उनीहरुलाई साबुन, मास्क र ग्लोब्स लगायतका कुल दश हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको उनले बताए । उक्त कार्यक्रममा मार्फत ढोलपुर, तमोलिपुर, प्रेमपुर, सृजनाटोल, बैजनाथपुर, गितापुर, पार्वतीपिर, ओढारपुर र हवलदारपुरका स्थानीयहरुलाई वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्