प्रविनलाई भोट अभियान तीव्र



कोहलपुर ।

नेपालको पहिलो अन्र्तराष्ट्रिय स्तरको गायन रियालिटि शो नेपाल आइडल सिजन– ३ का टप थ्री फाइनलिष्ट बर्दियाका प्रविन बेडवाललाई जिताउनको लागि बाँके र बर्दियामा अभियान नै थालिएको छ । भोलि हुने ग्राण्ड फाइलनमा सिजन थ्रीको टाइटल विजेता बनाउनको लागि भोट गर्न अपिल गर्दै बाँके र बर्दियाका युवाहरुले संस्थागत रुप मै अभियान थालेका हुन् ।

केहीदिन अघि मात्र बाँसगढी युवा सरोकार समिति र बिएम डान्स स्टुडियोले ‘प्रविन जिताउन भोट’ अभियानको सुरुवात गरेका थिए । बुधवारबाट प्रविनलाई जिताउन भोट गर्न अपिल गर्दै बाँकेमा समेत ‘प्रविन बेडवाललाई जिताउन भोट गरौ’ अभियान सुरु गरिएको छ । बर्दियाका छोरा र बाँकेका भान्जा समेत रहेका बेडवाललाई जिताउनको लागि संस्थागत रुपमै राष्ट्रिय संगीतकर्मी संघ बाँकेले अभियान थालेको हो । संघ अभियानकर्ता रहेको प्रविनलाई भोट गरौ अभियानमा कौशिल्या अस्पताल प्रा.लि. कोहलपुर, भेरिमालिका टेक्निकल कलेज र स्टेप अप डान्स एकेडेमीले सहकार्य गरेका छन् ।

बुधबार एक औपचारिक कार्यक्रमका बीच बर्दियाका सानका रुपमा रहेको प्रविन बेडवालाई जिताउनको अभियान नै थालिएको संघका अध्यक्ष ओम शर्माले जानकारी दिए । उनका अनुसार यस क्षेत्रको कला क्षेत्रको सम्मानका लागि पनि प्रविनलाई जिताउनको भोटको आवश्यकता छ । ‘नेपाल आइडलका प्रमुख दावेदार प्रविन हुन्, उनको जित नै पश्चिम क्षेत्रको कला र सँस्कृतिको जित हो । सबैलाई एकदिनको खर्च घटाएर भोट गरिदिन अपिल गर्दछु’ उनले भने । उनले जित्न जरुरी रहेको भन्दै संघले अभियान नै चलाइएको हो । उक्त अवसरमा बोल्दै बाँसगढी युवा सरोकार समितिका संयोजक तथा युवा नेता रेशम अधिकारीले प्रविनलाई जिताउनको लागि सिंगो बर्दियामा अभियान तीव्र रुपमा चलिरहेको जानकारी दिए ।

उनका अनुसार प्रविनको क्षमता र कलाका आधारमा सिजन ‘थ्री’ को विजेता बनाउनको लागि नै अभियान थालिएको हो । संयोजक अधिकारीले प्रविन जिताउन भोट अभियान थालेकोमा राष्ट्रिय संगीतकर्मी संघ बाँकेलाई धन्यवाद समेत प्रकट गरेका थिए । उनले पनि बाँके र बर्दियाका सबै संगीतप्रेमीहरुले भोट गरिदिन अपिल समेत गरे । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले समेत सिंगो पश्चिम क्षेत्रको सानको लागि प्रविन बेडवाललाई जिताउन आवश्यक रहेकोमा जोड दिएका थिए । भोलीसम्म उनलाई भोट गर्न मिल्नेछ । प्रविनलाई भोट गर्नको लागि नेपालभित्र रहेकाले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर NT ०९ टाइप गरी ३७०० मा पठाउन सकिन्छ । यस्तै १६६६७७०९ मा डायल गरेर समेत भोट गर्न सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार