बाँकेमा ५६८ जनाले जिते कोरोना



नेपालगञ्ज ।

बाँकेका ५ सय ६८ जना कोरोना जितेर घर फर्किएका छन् । शनिवार साँझसम्म जिल्लाका विभिन्न कोरोना अस्पताल तथा आइसोलेसनबाट ५ सय ६८ जना निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले ९३ जना महिला र ४ सय ७५ जना पुरुषहरु कोरोना जितेर घर फर्किएको जानकारी दिए । शनिवार मात्रै २१ जना संक्रमितहरु कोरोना जितेर घर फर्किएका थिए ।

कोरोना स्रोत व्यक्ति श्रेष्ठका अनुसार डिस्चार्ज हुनेहरुमा ८ जना महिला र १३ जना पुरुषहरु रहेका छन् । कोरोना परीक्षणको नतिजा पोजिटिभ देखिएपछि उनीरुलाई गत साउन २४ गते जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो । आइसोलेसन सेन्टरमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका व्यक्तिहरूलाई डिस्चार्ज गर्ने गरिन्छ ।

शुक्रबार ५१ जना कोरोना जितेर घर फर्किएका थिए भने बिहीवार २८ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा तीन दिनमा मात्रै सय जनाले कोरोनालाई जितेर निको भएर घर फर्किएका छन् । अहिलेसम्म पीसीआर परीक्षणका लागि बाँकेका विभिन्न स्थानबाट १७ हजार ७ सय ९ वटा स्वाब संकलन गरिएको छ ।

बाँकेका कोरोना संक्रमितको संख्या ८ सय २१ जना पुगिसकेको छ । ती संक्रमितमध्ये ५ सय ६८ जना कोरोना जितेर घर फर्किएका हुन् भने ४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा ७८ महिला र १ सय ७१ पुरुष गरी २ सय ४९ जना रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार