बन्दको निर्णय अवज्ञा गर्ने संघको चेतावनी, निर्णय फिर्ता नलिए भोलीदेखि व्यापार व्यवसाय खोलिने



कोहलपुर ।

लकडाउन गर्ने बिषयमा कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघ बीच विवाद भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै नगरपालिकाले भदौं ५ गतेसम्म कोहलपुरका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको थियो । नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णयमा व्यवसायीहरुको अग्रणी संस्था कोहलपुर उद्योग बाणिज्य संघले भने आपत्ति जनाएको छ ।

सर्वदलीय बैठकमा व्यवसायीहरुले राखेका सुझाव विपरित व्यवसाय बन्द गर्ने निर्णय गरेको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो । कोभिड–१९ कहरको बाहना बनाई सरकारी तथा गैर–सरकारी कार्यालय, व्यापार, व्यवसाय, बैंक बन्द गर्ने कोहलपुर नगरपालिकाको निर्णय सान्दर्भिक नभएको संघले जारी गरेको ध्यानार्षण पत्रमा उल्लेख गरिएको छ । छिमेकी शहर नेपालगञ्ज खुल्ला रहेको सन्दर्भमा कोहलपुर बन्द गर्दा यहाँको आर्थिक क्षेत्र धरासायी हुने निश्चित भएको संघले दाबी गरेको छ ।

संघको पदाधिकारी बैठकले नगरपालिकाले गरेका निर्णय प्रति सात बुँदामा असहमति रहेको संघका अध्यक्ष चक्रबहादुर अधिकारी जानकारी दिए । कोरोना संक्रमणको कुनै निश्चित समय र सिमा नभएको तथा एकै जिल्लाका कोहलपुर बन्द र नेपालगञ्ज खुल्ला रहने फरक–फरक निर्णय भएको भन्दै संघले असहमति जनाएको छ । जारी ध्यानाकर्षण पत्रमा नगरपालिकाको निर्णय साउन ३२ (आइतवार) सम्म फिर्ता नभए भोली भदौं १ गतेदेखि कोहलपुरमा सम्पूर्ण व्यापार, व्यवसायहरु खुला गरिने चेतावनी संघले दिएको छ ।

यता कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा ६ दिन नगरपालिकाका सम्पूर्ण विषयगत शाखा, सरकारी तथा गैर सरकारी कार्यालय, बैंकदेखि होटल व्यवसाय, सवारी साधान, उद्योग, तरकारीका हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । एक सातायता कोहलपुरमा विभिन्न वडामा समुदायस्तर मै कोरोना संक्रमण पुष्टि हुनुका साथै नारीहरुको महान पर्व तीज समेत नजिकिदै गरेको अवस्थामा बढ्न सक्ने भीडभाड नियन्त्रण र संक्रमण दर रोक्ने उद्देश्यले बन्द गरिएको नगर प्रमुख रावतले बताए ।

बन्द कडाईका साथ लागू गरिने उनले जानकारी दिए । नगरपालिका र संघ बीच विवाद हुँदा नगरपालिकाको निर्णय कार्यान्वयन हुने सभ्भावना भने न्यून देखिएको व्यवसायीहरु बताउँछन् । कोरोना कहरका कारण पाँच महिनादेखि व्यापार व्यवसाय ठप्प रहेको छ । बाँकेमा दुई सातादेखि जारी निषेधाज्ञा हटेको भोलिपल्ट नै कोहलपुर नगरपालिकाले लकडाउनको घोषणा गरेपछि यहाँका व्यवसायीहरु आक्रोशित भएका हुन् ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार