दिनेश कुमार बुढा । सुर्खेत ।
पुर्वाधार विकास नभएका गाउँबस्तीमा केही समय पहिला पिउँने पानी लगायत शिक्षा, स्वास्थ्य तथा पुर्वाधारहरुको निकै समस्या हुन्थ्यो । त्यो समस्या संघीयतापछि केही रुपमा कम भयो । विकट गाउँबस्तीका केही नागरिकहरुले सुख सुविधा पाए त कसैले पाएनन् ।
गाउँमा अरु नागरिक भन्दा माथि हुनेखानेहरु गाउँबाट सहरमा बसाईसराई गर्न थाले । तर सहरमा पढाई, लेखाई तथा स्वास्थ्यको व्यवस्था त भयो तर गाउँको भन्दा धेरै भार प¥यो भने पानीको समस्या पनि उस्तै रहेछ भन्ने उदाहरण कर्णाली प्रदेशको राजधानी सुर्खेत हो । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरका कतिपय स्थानहरुमा शुद्ध खानेपानीको सुविधा छैन । वीरेन्द्रनगर नगरपलिकाको वडा नम्बर ३ बस्ने एक स्थानीय महिला ज्योति विष्ट गुनासो गर्दै भन्छिन्, ‘विगत तीन वर्षदेखि करिब आधा घण्टाको बाटो हिडेर पानी लिन आउनुपर्ने समस्या छ । पालो आउन त झन् घण्टांै लाग्छ ।
पालो कुर्दा–कुर्दै एक आधा बित्छ । कति दिन त पानी नै नभरेर आएकी छु ।’ यो प्रदेश राजधानी नै जनताले खानेपानीका लागि गर्नु परेको संघर्ष हो । त्यहाँ जनताले यस्तो समस्या भोग्न थालेको वर्षौ भइसकेको छ । उनी थप्छिन्, ‘हाम्रो वडाका केही स्थानहरुमा खानेपानी संस्थानका धारा जोडेका छन् तर पानी नआएको महिनौ भइसक्यो आधा घण्टाको बाटो हिडेर पानी पिउनुपर्ने बाध्यता छ ।’ विरेन्द्रनगर ९ बस्ने निर्मलादेवि सताइको गुनासो पनि उस्तै छ । आफु बस्ने वीरेन्द्रनगर ९ बाट पानी पिउनको लागि धारासम्म पुग्न घण्टौ लाग्ने बताइन् । उनका अनुसार कहिल्यै पनि समय मै पानी पाइदैन । ‘चार वर्ष भयो यहाँको पानी बोकेर पिउन थालेको अहिलेसम्म पनि समस्या उस्तै नै रहेको छ । पानीको लागि प्रदेश सरकारले केही पहल गरेन ।
खाली भाषणमा मात्र यो गर्छु, त्यो गर्छु भन्छन् सरकारमा बसेपछि काम के हो भुलिहाल्छन् । अहिलेसम्म प्रदेशबासी जनतालाई शुद्ध पिउने पानीको व्यवस्था नगर्नु भनेको लाजमर्दो कुरा भयो ।’ दैलेखका घर भइ हाल वीरेन्द्रनगरमा बस्दै आएका विद्यार्थी बिनोद थापाले कुवाको पानी पिउनु पर्ने बाध्यता रहेको बताए । उनले प्रदेश राजधानी मै खानेपानीको समस्या रहेकोले प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए । प्रदेशको राजधानी भएकै ठाउँमा पानीको निकै अभाव रहेको छ ।
वीरेद्रनगर ३ आसपासका जनताहरु मात्र होइन विरेन्द्रनगर वडा नम्बर १० र ११ का स्थानीयको समस्या पनि यस्तै छ । स्थानीय निरक चौधरी आफू वडा नम्बर ३ मा आउनु पर्ने बाध्यता रहेको बताए । उनले भने ‘घरघरमा पाइप लाइन नभए पनि यही ट्यांकीलाई मर्मत तथा व्यवस्थित गरिदिन भनेर वडा कार्यलय तथा नगरपालिकामा अनुरोध गर्दा पनि अहिलेसम्म सुनुवाइ भएको छैन् ।’









प्रतिक्रिया दिनुहोस्