भाटभटेनीलाई जरिवाना



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा रहेको भाटभटेनी सुपर मार्केटलाई बीस हजार रुपैयाँ जरिवाना तिराइएको छ । सुपर मार्केटमा जम्मा भएको फोहोर निषेधित क्षेत्रमा फालेको भन्दै नेपालगञ्ज उप–महानगरपालिकाले बुधवार बीस हजार रुपैयाँ जरिवाना गरेको हो ।

नेपालगञ्ज उप–महानगरपालिका १८ को कारकाँदोमा भाटभटेनी सुपर मार्केट रहेको छ । सुपर मार्केटले नेपालगञ्ज २० मा रहेको निषेधित क्षेत्रमा फोहोर फालेको भन्दै बीस हजार रुपैयाँ जरिवाना तिराइएको हो । सुपर मार्केटलाई वडा नम्बर २० कार्यालय पहिलोपटक जरिवाना तिराएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । उनले डुडुवा खोलामा बगाउन लगिएको अवस्थामा राँझा चोकमा २ वटा रिक्सामा रहेको फोहोर नियन्त्रणमा समेत लिइएको जानकारी दिए ।

‘यती ठूलो प्रतिष्ठित व्यवसायीक संस्थाले निषेधित क्षेत्रमा फोहोर फाल्नु लाजमर्दो कुरा हो’ उनले भने, ‘पहिलो चरणमा हामीले बीस हजार जरिवाना तिराएका छौं । वडाभित्र फोहोर गर्ने जुनसुकै भएपनि कारवाही गरिन्छ ।’ रिक्साबाट नियन्त्रणमा लिइएको फोहोर ल्याण्डफिल साईटमा पठाएर रिक्सा छोडिएको वडा अध्यक्ष कार्कीले बताए । नेपालगञ्ज उप–महानगरपालिको ल्याण्डफिल साईट भन्दा बाहिर फोहोर फाल्न रोक लगाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १५ गते बिहीबार