सुदीप अधिकारी । बर्दिया ।
अबिरल वर्षाका कारण बर्दियाको राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा गरि करिव एक सय घर डुवानमा परेका छन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार जिल्लाका विभिन्न स–साना खोला र नदीका कारण झण्डै १ सय घर डुबानमा परेका हुन् । राजापुर नगरपालिकाको दौलतपुर, सोनपुर, चनौरा गाउँमा करिव ५७ घर डुवानमा परेका छन् । राजापुरको भिम्मापुर क्षेत्रमा ४८ घर डुवानमा परेको बताइएको छ । यसैगरि बर्दिया निकुञ्ज भित्रको जंगलबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, ७, ८ का केही गाउँ डुवानमा परेका छन् । ठाकुरबाबा नगरपालिकाको कर्मेला र बठनपुर गाउँका ३१ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
गेरुवा गाउँपालिकामा एउटा कुखुरा फारम बाढीले बगाएको छ । मधुवन नगरपालिका वडा नम्बर १ को एउटा सामुदायिक विद्यालयमा पनि बाढी पसेको छ । ठाकुरबाबामा डुवानमा परेका ३१ घरपरिवारका बालबालिका र वृद्धवृद्धालाई नेपाल प्रहरी, जनप्रतिनिधी, रेडक्रसको टोलीले उद्धार गरेको ठाकुरबाबाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताए । उद्धारमा रवर बोटको प्रयोग गरिएको थियो । ठाकुरबाबाका बाढी प्रभावित घरपरिवारलाई स्थानिय विद्यालयमा राखिएको वडा नम्बर ७ का वडाध्यक्ष पदमबहादुर खडकाले बताए ।
राजापुरका डुवान प्रभावितहरुलाई पनि सुरक्षित स्थानमा राखिएको छ । बाढीको जोखिम रहेको भन्दै कर्णाली नदी तटिय क्षेत्रका बासिन्दालाई सर्तक भएर नआत्तीएर सुरक्षीत स्थानमा जानका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको र उद्धारका लागि सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कर्यालय बर्दियाले जनाएको छ । कर्णाली नदीमा बुधवार विहान पानीको सतह खतराको संकेतसम्म पुगेको भएपनि दिउँसोबाट नदीमा पानीको सतह घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । कर्णाली नदीमा पानीको सतह १० दशमलव ७ मिटर पुगेको थियो । १० दशमलव ८ पुगेपछि खतराको तह हुने भएकाले सर्तकता अपनाउन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्