बाँकेमा अनाधिकृत पार्किङलाई निरुत्साहित गर्दै प्रहरी पहिलोपटक गाडिमा ‘ह्वील लक’



कृष्ण ओली । नेपालगञ्ज ।

बाँकेमा अनाधिकृत पार्किङलाई निरुत्साहित गर्नको लागि थप कडाई थालिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले संयुक्त रुपमा मंगलबारदेखि अनाधिकृत पार्किङलाई निरुत्साहित गर्नको लागि कडाई थालेका हुन् । सोही क्रममा बाँकेमा पहिलोपटक निषेधित स्थानमा पार्किङ गरिएका चारपाङ्ग्रे सवारी साधनहरुमा ह्वील लगाउन थालिएको छ । मंगलबारदेखि बाँकेको नेपालगञ्जमा निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनमा ह्वील लक लगाउन सुरु गरिएको थियो । चारपाङ्ग्रे सवारी साधनको एक वटा टायरमा ट्राफिक प्रहरीले ह्वील लक लगाउने गर्दछ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक पबिन्द्र बमले पहिलो दिन ७/८ वटा चारपाङ्ग्रे सवारी साधनमा ह्वील लक लगाइएको जानकारी दिए । ‘हामीले बाँकेमा पहिलोपटक सवारी साधनमा ह्वील लक लगाउन सुरु गरेका हौं’ उनले भने, ‘नेपालगञ्जबाट सुरु भएको अभियान अन्य स्थानमा समेत लागू हुन्छ ।’ सडकमा खटिएका ट्राफिक प्रहरीहरुले निषेधित क्षेत्रमा रोकिएका चारपाङ्ग्रे सवारी साधनहरुमा ह्वील लक लगाउने ट्राफिक प्रहरी निरीक्षक बमले जानकारी दिए । ‘जेब्रा क्रसिङ, निषेधित स्थान र अव्यवस्थित तरिकाले सडकमा पार्किङ गर्ने सवारीमा ह्वील लक लगाइन्छ’ उनले भने, ‘सवारी धनी आएर जरिवाना तिरेपछि मात्र लक ट्राफिक प्रहरी खोलिदिनेछ ।’

बाँकेमा अहिलेलाई २० वटा ‘ह्वील लक’ मेसिन आएको बाँके ट्राफिकले जनाएको छ । अनाधिकृत पार्किङलाई निरुत्साहित गर्नको लागि नेपालगञ्जको साथैं गनापुर, खजुरा, नेपालगञ्ज बसपार्क र कोहलपुरको ट्राफिक प्रहरीलाई समेत ‘ह्वील लक’ मेसिन वितरण गरिएको ट्राफिक प्रहरी निरीक्षक बमले जानकारी दिए । ‘हामीले ‘ह्वील लक’ मेसिन सबै युनिटहरुमा वितरण गरिसकेका छौं’ उनले भने, ‘हाम्रो स्रोत साधनले भ्याएसम्म यसले निरन्तरता पाउनेछ ।’ पहिलो दिन मंगलबार नेपालगञ्जको धम्बोझी चोकदेखि विपी चोकसम्मका ७/८ वटा सवारी साधनमा ह्वील लक लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पहिलो दिन निषेधित क्षेत्रमा रोकिएका सवारी साधनमा ह्वील लक लगाउन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, ट्राफिक प्रहरी निरीक्षक पबिन्द्र बम लगायतका प्रहरी अधिकारीहरु सडकमा खटिएका थिए । सडकमा अव्यवस्थित रुपले जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम निम्तिने हुँदा कारबाही गर्नु परेको प्रहरी उपरीक्षक रानाले बताए । ‘जथाभावी पार्किङ गरी राखिएका सवारी साधनले दुर्घटनाको जोखिम हुन्छ’ उनले भने, ‘दुर्घटनाका साथै सहरको सौन्दर्यीकरण पनि कुरुप हुने हुँदा सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन लागेका हौं ।’

सडकमा ट्राफिक नियम बिपरित राखिएका सवारी साधनलाई ‘ह्वील लक’ गरी कारबाहीको दायरामा ल्याउन सुरु भइसकेको प्रहरी उपरीक्षक रानाले बताए । निषेधित स्थानमा पार्किङ गरिएका चारपाङ्ग्रे सवारी साधनहरुमा ह्वील लक लगाउने कार्यलाई थप व्यवस्थित बनाइने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १४ गते बुधबार