शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका १५ वटै वडामा बेरोजगार सूचिकरण सुरु गरिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकामा सञ्चालन हुने तेस्रो चरणको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगार सूचिकरण सुरु भएको हो ।
देशभरका स्थानीय तहमा १५ वर्षदेखि ५९ वर्ष उमेर समूहको बेरोजगार व्यक्ति निजको परिवारलाई कम्तिमा सय दिन रोजगारी उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०७५÷०७६ देखि यो कार्यक्रम सुरु भएको थियो । कोहलपुर नगरपालिकाले समेत समेत चालु आर्थिक वर्षमा सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बेरोजगार व्यक्तिको सूचिकरणको लागि निवेदन दिन सबै वडालाई पत्राचार गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा म न्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को रोजगार सेवा केन्द्रले नगरपालिकामा रहेका १५ वटै वडामा पत्राचार गरी निवेदन संकलन सुरु गरिएको जनाएको छ । केन्द्रका अनुसार बेरोजगार व्यक्ति सूचिकरणको लागि सम्बन्धित वडा मार्फत एक महिना (साउन ८ देखि भाद्र ७) गतेसम्म इच्छुक बेरोजगार व्यक्तिले दिएका निवेदन सम्बन्धित वडाले केन्द्रलाई बुझाउनु पर्नेछ । सोही आधारमा केन्द्रको समन्वयमा सम्बन्धित स्थानीय तहले कम्तिमा एक सय दिनको रोजगारी प्रदान गर्ने प्रावधान रहेको छ ।
कोहलपुर नगरपालिकास्थित रोजगार सेवा केन्द्रका रोजगार संयोजक भद्रबहादुर थापाले चालु आर्थिक वर्षमा कोहलपुरमा एक सय जनाले बेरोजगार व्यक्ति सय दिन रोजगार पाउने बताए । उनका अनुसार यसपटक विगतका वर्षहरु भन्दा फरक तथा प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन हुनेछ । ‘यसपटक कोरोनाका कारण रोजगार गुमाएका व्यक्ति यस कार्यक्रमको प्राथमिकतामा पर्नेछन् । उनीहरुलाई अनिवार्य सय दिन रोजगारी उपलब्ध गराइने छ ।
उनीहरुलाई यस क्षेत्रमा सञ्चालन हुने विकास निर्माण, कृषि तथा पशुपालन क्षेत्र समेत समाबेश हुनेछन्’ थापाले भने । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी सय दिन रोजगार दिनको लागि कोहलपुर नगरपालिकालाई ५१ लाख ७१ हजार रुपैयाँ प्राप्त भएको छ । कोरोनाका कारण सिर्जित अवस्थाका कारण बेरोजगार भएका व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नको लागि कोहलपुर नगरपालिकाले समेत नीति तथा कार्यक्रम र बजेटमा समेत थुप्रै कार्यक्रम ल्याएको छ । थापाले विगतका वर्ष भन्दा व्यवस्थित रुपमा यो कार्यक्रम सञ्चालन हुने र वास्तविक बेरोजगार समेटिने जानकारी दिए । गत आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम कोरोना भाइरसका कारण सोचे अनुरुप सञ्चालन गर्न नसकिएको उनको भनाई रहेको छ ।
यद्यपि कोरोना कहरका कारण लकडाउन भएकै अवस्थामा भने कार्यक्रम सञ्चालन गरिएको थियो । लकडाउनका कारण समस्यामा परेका बेरोजगार नागरिकलाई न्युनतम ५ देखि अधिकतम् १० दिनसम्म रोजगारी दिएर राहतको रुपमा प्रदान गरिएको रोजगार संयोजक थापाले बताए । गत आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि विनियोजित बजेटबाट करिब ८ सय जनाले एक हप्ते रोजगारी पाएका थिए । कार्यक्रम मार्फत रोजगारीको लागि नाम दर्ता गराएका ५ सय ५४ जना सहित थप साढे २ सय जना गरेर कुल ८ सय जनालाई रोजगारी स्वरुप सहभागी आधारमा राहत प्रदान गरिएको उनले बताए ।
यता कोरोना कहरका समयमा भारत तथा अन्य मुलुकबाट अनुमानित १५ सय भन्दा बढी व्यक्तिहरु जना घर फर्किएका छन् । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोरोना कारण देशभर लकडाउन भएको समयमा अनुमानित १६ देखि १७ सयको हाराहारीमा मानिसहरु आएको बताए । उनका अनुसार उद्यपि यो संख्या एकिन भने होइन तलमाथि हुन सक्छ । यसपटकको बजेट विभिन्न क्षेत्रमा आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जनामा केन्द्रीत रहेको उनले बताए ।
यसैगरी कोरोना कहर कै कारण बेरोजगार भएका युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्नको लागि विश्व बैंकको रोजगार कार्यक्रम समेत समेटिने भएकोले तीन जनाले कर्मचारीको रुपमा रोजगारीकोे अवसरर पाउनुका साथै थप बेरोजगार व्यक्तिले समेत रोजगारी पाउने रोजगार सेवा केन्द्रले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्