कोहलपुर ।
कुनै बेला कोरोनाको ‘हटस्पट’ बनेको बाँकेमा फेरी कोरोनाका संक्रमित थपिन थालेका छन् । पछिल्लो केहीदियता बाँकेका विभिन्न पालिकाहरुमा नयाँ कोरोना संक्रमितहरु बढिरहेका हुन् । नयाँ संक्रमितको संख्या दैनिक जसो बढ्न थालेसँगै प्रयोगशाला स्वाब परीक्षणको चाप बढेको छ भने कन्ट्याक्ट ट्रेसिङमा समेत चाप बढेको छ ।
तीन दिनयता बाँकेमा दैनिक नयाँ कोरोना संक्रमित थपिरहेका छन् । शुक्रबार कोहलपुर नगरपालिका ९ का दुई जना महिला, शनिबार त्रिभुवन चोकबाट संकलन गरिएका स्वाबमध्ये दुई पुरुष र एक महिला गरी तीन जना र आइतबार नेपालगञ्जकै एक महिलामा कोरोना देखिएको थियो । यसले पनि बाँकेमा फेरी नयाँ कोरोना संक्रमितहरु थपिरहेको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले पछिल्लो केही दिनयता कोरोना संक्रमितको दर बढिरहेको बताए ।
‘केही दिनअघिसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १२ जना मात्र थियो’ उनले भने, ‘आइतबारसम्म आइसोलेसनमा बस्नेको संख्या ३० जना पुगेको छ ।’
अहिले बाँकेका कोरोना जित्नेहरु भन्दा थपिने क्रम धेरै रहेको छ । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै बजारमा भिडभाड समेत ह्वात्तै बढेको छ । कुनै सुरक्षा नै नअपनाएर बजारमा भिडभाड लाग्दा कोरोना संक्रमणको जोखिम उच्च हुने स्वास्थ्यकर्मी बताउँछन् । कोरोना स्रोत व्यक्ति श्रेष्ठले परीक्षणको दायरा बढाएकोले संक्रमितहरु थपिएको दाबी गरे । ‘हामीले स्वाब संकलन गर्दै परीक्षणको दायरा बढाएकाले संक्रमितहरु समेत थपिएका हुन्’ उनले भने, ‘संक्रमितको संख्या बढेसँगै बाँकेमा कोरोनाको जोखिम बढेको छ ।’
यातायात र राजश्व कार्यालय सिल
बाँकेको नेपालगञ्जमा यातायात र राजश्व कार्यालयमा कार्यरत एक÷एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । आइतबार यातायात व्यवस्था कार्यालय नेपालगञ्जकी एकजना २२ वर्षीया महिला कम्प्युटर अपरेटरलाई कोरोना भाइरस पुष्टि भएको थियो । शनिबार आन्तरिक राजश्व कार्यालयका एकजना ३३ वर्षीय अधिकृतलाई कोरोना पुष्टि भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । कर्मचारीलाई संक्रमण देखिएपछि दुबै कार्यालय आइतबारदेखि सिल गरिएको छ । ‘कर्मचारीमा कोरोना देखिएपछि आइतबारदेखि दुवै कार्यालय बन्द गरिएको छ’ उनले भने, ‘त्यहाँका कर्मचारीहरुको स्वाब संकलन गरेर प्रयोगशालामा पठाएका छौं । रिपोर्ट नआउँदासम्म कार्यालय बन्द हुन्छन् ।’ सरकारले असार १ गतेपछि मात्रै सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
लामो सयमको लकडाउन पछि आर्थिक मसान्तको अन्तिममा कार्यालयहरु खोलिएको हुँदा राजश्व बुझाउन आउने व्यवसायी तथा सर्वसाधारणको ठूलो भीड राजश्व कार्यालयमा लागेको थियो । त्यस्तै लामो लकडाउन पछि सवारीको रुट परमिट, लाइसेन्स नवीकरण, खरिद बिक्री जस्ता काम गर्न आउनेको भीड हुँदा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो भने छैन । #File Photo









प्रतिक्रिया दिनुहोस्