कोहलपुर ।
देशमा अधिकार प्राप्तिको राजनीतिक लडाई सकिएको भन्दै अब समृद्धिको लागि युवाले नेतृत्व गर्नुपर्नेमा सरोकारवालाले बताएका छन् । देशमा सत्ता र प्रतिपक्ष बीच राजनीतिक खटपट भइरहने भन्दै देश विकासमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनीहरुले बताएका हुन् ।
नेपाल जेसीजको आयोजनामा कोहलपुरमा सम्पन्न शाखा अध्यक्षहरुको भेला (प्रिसिडेन्ट मिट २०२०)को उद्घाटन सत्रमा बोल्ने सरोकारवालाहरुले युवाले सधै सकारात्मक पक्षमा मात्रै वकालत गर्नुपर्नेमा जोड दिए । देशले अधिकार प्राप्तिको लामो राजनीतिक लडाई पुरा सकिसकेको र अबको आवश्यकता आर्थिक समृद्धि र रोजगारी भएको उनीहरुको भनाई रहेको थियो ।
नेपाल जेसीजको एरिया ‘डि’ अन्तर्गत पर्ने ४९ वटा शाखा अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ का साँसद महेश्वर गहतराज ‘अथक’ले देशमा राजनीतिक खिचातानीले युवाहरुमा निरासा थपिएको बताए । उनका अनुसार लामो समयको संघर्ष पश्चात प्राप्त गरेको अधिकारको रक्षा गर्नुपर्ने जिम्मेवारी समेत युवाहरुको हो । यद्यपी दल भित्रको खटपट र लडाईका कारण शासन व्यवस्थामा परिवर्तन आइहाल्ने अवस्था नरहेको उनको भनाई रहेको थियो । ‘जेसीज सकारात्मक सोच भएका युवाहरुको संस्था हो ।
यो अभियानमा जोडिएका युवाहरु कुनै न कुनै हिसाबमा सक्षम छन् । जेसीजले गाउँ, समाज र देश विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ’ सांसद गहतराजले भने । उक्त अवसरमा बोल्दै नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शोभा खरेल भट्टराईले पछिल्लो समय विद्यामान कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण र यसबाट प्रभावित नागरिकहरुको सहयोगको लागि जेसीज युवाहरुको भूमिका प्रशंसायोग्य रहेको बताइन् ।
उनले विपत्तिको समयमा देशभरका जेसीज युवाहरु जनता, स्थानीय सरकार र सरोकारवालासँगको साझेदारीमा काम गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन् । उनका अनुसार जेसीजको उद्देश्य सिंगो देशको नेतृत्व गर्ने जनशक्ति निर्माण गर्ने हो । ‘हामी देशभर रहेका हाम्रा चार वटा क्षेत्रमा एकपटक शाखा अध्यक्षहरुको भेला गरिरहेका छौं । विपत्तिको समयमा यो क्षण हाम्रो लागि निकै महत्वपूर्ण छ ।
परिवर्तनको लागि सक्रिय हामी एकजुट भएर अघि बढौं’ उनले भनिन् । कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले जेसीज शाखा अध्यक्षहरुको भेला शाखाहरुले गएको वर्षमा गरेका क्रियाकलाप, आगामी कार्यदिशा तथा रणनीति तय गर्नको लागि आयोजना गरिएको बताए । उनका अनुसार कोरोना महामारीको समयमा भएको भेलाले नेतृत्व विकासमा झन् टेवा पुग्नेछ । भेलामा एरिया ‘डि’ अन्र्तगत रहेका ४९ शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्