बर्दिया ।
बर्दियामा प्रत्येक वर्ष सवारी दुर्घटनाको दर बढ्दै जान थालेको पाइएको छ । सवारी दुर्घटनाको दर बढ्दै जान थालेपछि मृत्यु हुने र घाइते हुनेहरु समेत बढिरहेका छन् । गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभर ८३ वटा ठूला सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७५/७६ मा ठूला सवारी दुर्घटना ४९ वटा मात्र भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाको तथ्यांकमा उल्लेख रहेको छ ।
गत आर्थिक वर्षमा कोरोना कहरका कारण करिब चार महिना लकडाउन भएपनि सवारी दुर्घटनाको दर भने घट्न सकेन । गत आर्थिक वर्षमा चार महिना सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालनमा आउदा समेत अघिल्लो आर्थिक वर्षको भन्दा ३९ वटा ठूला दुर्घटना भए । सवारी दुर्घटनामा परेर ३८ जनाको मृत्यु भएको थियो भने १ सय २ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय बर्दियाका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी साइकल र मोटरसाइकल दुर्घटनामा परेका थिए ।
गत आर्थिक वर्षमा भएका साना ठूला १ सय १७ वटा दुर्घटनामध्ये ६३ वटा मोटरसाईकल रहेका छन् भने १२ वटा साईकल छन् । त्यस्तैगरी जीप कार ११ वटा, ट्याक्टर १० वटा, बस ९ वटा, ट्रक ७ वटा र अटो रिक्सा ५ वटा रहेको ट्राफिक प्रहरीले जनाएको छ । ‘बढ्दो सवारी साधनको चाप, पैदल यात्रु, साईकल र मोटरसाईकलको लापरबाहीका कारण दुर्घटना भएको देखिन्छ’ प्रहरी नायब निरीक्षक मल्लले भने, ‘यी लगायतका अन्य कारणहरुले समेत वर्षेनी सवारी दुर्घटनाको दर बढिरहेको छ ।’ गत आर्थिक वर्षमा सवारी चालक र सवारी धनीहरुलाई २० पटक गरी १३ हजार ५० जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिईएको थियो ।
६५ लाख राजश्व संकलन
ट्राफिक प्रहरीले चालू आर्थिक वर्षमा सवारी साधन कारबाहीबाट ६५ लाख २ हजार राजस्व संकलन गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार २ सय ३५ सवारी साधन कारबाहीबाट ६५ लाख २ हजार राजस्व संकलन भएको हो । ट्राफिक प्रहरी नायब निरीक्षक मल्लले लकडाउनका कारण अघिल्लो वर्षको तुलनामा राजस्व संकलनमा भने केही कमी आएको जानकारी दिए । आर्थिक वर्ष २०७५÷०७६ मा ७८ लाख ८० हजार राजस्व संकलन गरेको
थियो ।
२४ हजार सवारी कारबाहीमा
बाँकेमा गत आर्थिक वर्ष २०७६÷०७७ मा २३ हजार ७ सय ४३ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार कारबाहीमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन भएको थियो । जसमा ट्रकबाट ३७ लाख ७४ हजार ५ सय जीप कारबाट २५ लाख ४० हजार ५ सय, मोटरसाइकलबाट २२ लाख ८५ हजार ५ सय, बसबाट २० लाख ७४ हजार ५ सय, ट्रयाक्टरबाट १५ लाख १४ हजार ५ सय, टेम्पोबाट २ लाख ९९ हजार र अन्य सवारी साधनको कारबाहीबाट २ लाख ८८ हजार ५ सय राजस्व संकलन भएको हो ।
उक्त अवधिमा ६ हजार ९ सय ५२ ट्रक, चार हजार ९ सय ८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८ सय ७० मोटरसाइकल, दुई हजार ७ सय ६२ ट्रयाक्टर, ५ सय ४७ टेम्पो र ५ सय ४६ अन्य सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए । बाँकेमा गत आवमा १ सय ९१ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २ सय ५४ सवारी संलग्न रहेका छन् । उक्त अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा ६ बालक, ३ बालिका, १२ महिला र ५२ जना पुरुष रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
यस्तै ५ बालिका, ११ बालक, ३२ महिला र १ सय १० पुरुष गरी १ सय ५८ जना गम्भीर घाइते भएका थिए । ३ बालिका, ८ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भएका थिए । सवारी दुर्घटनामा ४० वटा पशु चौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० वटा मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ वटा जीप कार, २३ वटा बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, ७ माइक्रो, ४ टिपर र १ वटा अन्य सवारी दुर्घटना भएका थिए ।









प्रतिक्रिया दिनुहोस्