शुभाकर विश्वकर्मा, कोहलपुर ।
‘यो त घर भन्दा प्यारो छ, नाच्न, मिठो खान, राम्रो लाउन पाइन्छ’ बाँकेको कोहलपुरस्थित निल सागर बृद्धा आश्रम तथा असहाय सेवा केन्द्रका एक बृद्ध पुरुषले बोलेको वाक्य हो यो । उनी विगत साढे एक वर्षदेखि यही आश्रममा बस्दै आएका छन् । सेतै फुलेको कपाल, चाउरी परेको अनुहार, बाँधमा गलबन्दी बेरेका ६० काटेका बृद्ध । जो जन्मघर जाजरकोट र हुर्के बढेको दैलेख बताउँछन् । जसलाई आफूलाई जन्म दिने आमा, बुबा, दाजु भाई आफन्तबारे केही पनि थाहा छैन । यदिसम्म की उनीसँग पहिचानको नाममा नागरिकता समेत छैन । आफ्नो नाम, थर र वंशबारे पनि केही जानकारी नभएको बताउँछन् उनी ।
बाजे तपाईको नाम के हो ? जवाफ फर्काउछन्, थाहा नाई । जो आश्रमका सबैभन्दा बृद्ध अर्थात ‘बा’ हुन् । सबैले उनलाई ‘दैलेखी बा’ भनेर सम्बोधन गर्छन् । ‘आधा जिन्दगी दैलेख मै काटे । एक वर्ष भयो यहाँ आएको । घर भन्दा धेरै राम्रो छ यहाँ । सबैले माया गर्छन् । म त खुसी छु ।’ खुसी हुँदै उनले भने । ती बृद्धाका अनुसार आफूलाई आमाबुबाको माया कस्तो हुन्छ थाहा छैन तर बृद्धा आश्रममा बसेकोहरुको मायाले छोराछोरी आमा बाबालाई कस्तो प्रेम गर्दा रहेछन् भन्ने अनुभव भएको छ । ५० औं वर्ष पालेका एक दम्पति जसलाई दैलेखी बा दिदी भिनाजु भन्छन्, उनीहरुले यहाँ ल्याएका थिए एक वर्ष अघि । यहाँका एक अर्का सदस्य हुन, भारतीय नागरिक आनन्द शुक्ला । मानसिक अवस्था पुर्ण रुपमा सन्तुलनमा नरहेका उनलाई पनि एक वर्ष अघि नेपालगञ्जको सडकबाट उद्धार गरेर सेवा केन्द्रमा ल्याइएको थियो । उनी ६ महिना त्यतै बसे । नेपालगञ्जमा प्राय महिलाहरु मात्रै भएपछि शुक्लालाई कोहलपुर ल्याएको हो ।
जहाँ अहिले उनी पहिलेको भन्दा निकै परिवर्तन भएका छन् । नेपाली भाषा बोल्न समेत नजान्ने उनी आफ्नै भाषामा भन्छन्, ‘ए त हामरा घर हे, यहाँ के लोग बहुती अच्छे हो, अर हामे बहुत प्यार कर्ते हे ।’ उनी यहाँ बसेको केही समयपछि उनका आमा बाबा लिन आएका थिए । तर उनी आफ्नो घर जान मानेनन् । उनीहरु फर्किए । अचेल आश्रमका इन्चार्जलाई आमाबाबा फोन गरेर आनन्दको अवस्थामा बारे जानकारी लिइरहन्छन् । अचेल कहिले काँही उनले आमाबाबासँग कुराकानी समेत गर्ने गरेको इन्चार्ज रामचन्द्र पराजुली बताउँछन् ।
६० काटेका दैलेखी बा र भारती नागरिक शुक्ला एक प्रतिनिधि पात्र मात्रै हुन्, जो आफ्नो घर भन्दा पनि बढी सुविधा, माया, हेरचाह र प्यार बोकेर बसिरहेका छन् । कोहलपुरमा रहेको निल सागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्र कोहलपुरमा उनीहरु जस्तै १७ जना छन् । तिनीहरु कोही, परिवारबाट विछोडिएका, बेवारिसे अवस्थामा सडकमा भेटिएका तथा घर परिवारबाटै जबरजस्ती पु¥याइएकासम्मका व्यक्तिहरु हुन् । कोहलपुरमा कर्णाली, प्रदेश पाँच र सुदूर पश्चिम प्रदेशका गरि सबैजना पुरुषहरु मात्रै छन् । इन्चार्र्ज पराजुलीका पछिल्लो चार महिनायता कोभिड– १९ कहरका कारण नयाँ व्यक्तिहरुलाई ल्याइएको छैन । कोरोना संक्रमण जोखिम तथा कोहलपुरमा सीमित स्रोत साधनका कारण पछिल्लो समय ल्याउन नसकिएको उनले बताए । ‘यहाँ दिन बिराएर नयाँ मानिसहरु आउने गर्छन् ।
कतिपय अवस्थामा अटोमा समेत पु¥याउनु हुन्छ । तर कोरोना संक्रमण जोखिमका कारण राखिएको छैन’ उनले भने । पछिल्लो समयमा कोहलपुरमा आधा दर्जन जति नागरिकहरु बेवारिसे अवस्थामा बसिरहेको भएपनि आफूहरुले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै रोकेको उनले बताए । कोहलपुर सहयोगापेक्षी सडक मानव मुक्त नगरपालिका समेत हो । यहाँ धेरै सडक मानवहरु देखिने गरेका छन् । उता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत पनि कोरोना संक्रमण जोखिम र व्यवस्थापन गर्न सकस हुने अवस्था रहेकोले नयाँ मानिसहरुलाई लिन नसकिएको बताउँछन् ।
उनका अनुसार विस्तारै कोरोना कहर केही कम हुँदै गइरहेकोले अवस्था सामान्य हुन वित्तिकै कोहलपुर क्षेत्रमा बेवारिसे अवस्थामा बस्दै आएका नागरिकलाई सिधै उठाएर लगिनेछ । ‘मान्छेहरु सडकमा देखिन्छन् तर व्यवस्थापन गर्न सकेका छैनांै । कोरोनाले समस्या भएको छ । अबको केही समयपछि व्यवस्थापन प्रक्रिया शुरु हुन्छ ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । आलु आर्थिक वर्षमा समेत नगरपालिकाले सडक मानव व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । गत वर्ष नगरपालिकाले सडक मानव व्यवस्थापन खर्च भनेर चार लाख रुपैयाँ विनियोजन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्