18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

लकडाउन अन्त्यको घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ७, २०७७  

कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्य भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यसबारे जानकारी दिएका थिए । कोरोना महामारीका कारण सरकारले गत चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको थियो ।

करिब तीन महिना २५ दिनपछि सरकारले लकडाउन अन्त्य भएको सार्वजनिक रुपमै बताएको हो । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि व्यवहारिक रुपमा भने भदौको सुरुसम्मै लागू हुने देखिएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री खतिवडाले लकडाउन अन्त्य भएको बताएपनि होटल, रेष्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि, सीमा प्रतिबन्ध साउन ३२ गतेसम्म बन्द रहने जानकारी दिए । त्यस्तै शैक्षिक संस्थाले भदौ १ गतेदेखि भर्ना र परीक्षा मात्र सञ्चालन गर्न पाउने, पठन पाठनबारे पछि निर्णय हुने भनिएको छ भने लामो दूरीका सार्वजनिक यातायात पनि भदौ १ गतेदेखि खुल्ने सरकारले जनाएको छ । आजदेखि सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य समेत भएको सरकारले घोषणा गरेको छ ।

त्यस्तै, सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेर जनजीवनलाई नियमित रूपमा अगाडि बढाउन खोजिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए । ‘सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् । धेरै गतिविधिहरू अब नियमित रूपमा फर्कन्छन् ।’ सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणालीको पनि अन्त्य भएको मन्त्री खतिवडाले बताए ।

उनले भने, ‘सरकारी कार्यालय २ सिफ्टमा चलाउने प्रणाली हटाएर नियमित रूपमा १० देखि ५ बजेसम्म चल्छन् ।’ कर्मचारीमा पनि बिहानै कार्यालय जाने भन्ने नपरेको र सेवाग्राहीले पनि त्यसरी सेवा नलिएको पाइएकाले सिफ्टअनुसार कार्यालय संचालन गर्ने कुराको अन्त्य भएको उनले बताए । स्वास्थ्य सुरक्षा अपनाएर नियमित रूपमा कार्यालय संचालन गरिन लागिएको उनको भनाइ थियो । कोरोना भाइरसको संक्रमणका कारण सरकारी कार्यालयमा दुई सिफ्टमा खोल्ने निर्णय सरकारले यसअघि गरेको थियो ।

आगामी दिनमा कोरोना संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य सजगता अपनाएर जनजीवनलाई सहज बनाउने निर्णय भएको मन्त्री खतिवडाले बताए । एकातिर लकडाउन अन्त्य भएको घोषणा गर्ने अर्कोतिर मुख्य क्षेत्र भदौ लागेपछि मात्र खुला हुने सरकारको निर्णयले द्वैध मान्यता देखाएको छ ।

मुख्य क्षेत्र भदौ लागेपछि खुल्ने भने पनि लक डाउन अन्त्य भएको घोषणा सरकारले गर्नुका पछाडि राजश्व संकलनसँग प्रत्यक्ष जोडिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेको एक महिनाभित्र भ्याट, अन्तशुल्क, आयकर उठाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले लकडाउन अवधिलाई शून्य अवधि मानेर कर प्रशासनमा समेत यस्तो आदेश दिएपछि ढुकुटीमा जम्मा हुनु पर्ने ५२ अर्ब रुपैयाँभन्दा बढी रोकिएको छ ।

प्रकाशित मितिः बुधबार, साउन ७, २०७७     10:08:29 AM  |