कोहलपुर ।
जिल्ला ट्राफिक कार्यालय बाँके नजिकै रहेको प्रतिक्षालयमा एक बृद्ध तीन महिनायता बेवारिसे अवस्थामा बसिरहेका
छन् । चौराहा क्षेत्रबाट विभिन्न प्रदेशमा जानको लागि आएका यात्रुहरुको सहजताका लागि बनाइएको प्रतिक्षालयमा ती बृद्ध गत बैशाख महिनायता बसिरहेका हुन् ।
पुर्खौली घर दैलेख बताउने ६४ वर्षीय बृद्धको लागि अहिले उक्त प्रतिक्षालय नै बस्ने घर जस्तै बनेको हो । बाटोमा हिड्ने कसैले सहयोग गरे खाने र सहयोग नगरे भोकभोकै सुत्ने गरेका बृद्ध हुन्, इन्द्र बहादुर विक । खास घर कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर भएको उनी बताउँछन् । उनका अनुसार परिवारमा कोही पनि सदस्य छैनन् । ‘छोराले दुर्घटनामा ज्यान गुमाए । श्रीमतीको पनि सर्पले टोक्दा उपचार नपाएर ज्यान भयो । एक्लै घरमा विरक्त लागेपछि घर छोडेर हिडे’ उनले भने । त्यसपछि कहिल्यै पनि घर फर्किएर नगएको विकले बताए ।
उनको श्रीमतीको पाँच वर्ष अघि मृत्यु भएको थियो । त्यसपछि विकले केही वर्ष भारतमा मजदुरी गरेर गुजारा चलाए । केही वर्ष हरिद्धारमा बसे । ज्याला मजदुरी गरे । दैनिकी चलिरहेको थियो । एक्कासी दुर्घटनामा परेपछि बाँया खुट्टामा चोट लाग्यो । नेपाल फर्किएपछि केही वर्ष नेपालगञ्जको घरबारी टोलमा बेवारिसे अवस्थामा बसे । विक भन्छन्, ‘अलि अलि काम गर्थे । गुजारा चलाउँथे । ठिकै चलिरहेको थियो । त्यहाँ पनि बस्ने वातावरण भएन ।’ त्यहाँ राती सुतिरहेको समयमा चोरले आफूलाई लुटेको र पेटमा तेजाब छर्किएको समेत बताए । पछि प्रहरीले उद्धार गरेर अस्पताल पु¥याइयो । उपचारपछि निको त भयो, त्यसको असर अहिले पनि उनको शरिरमा प्रष्टै देखिन्छ । कोहलपुर आउनु भन्दा अघि भने उनी बर्दियाको मधुवनमा बस्थे । त्यहाँ दैलेखबाट झरेका केही आफन्त छन् ।
केही समय उनीहरुले उनलाई सहयोग गरे । करिब दुई वर्ष जति मधुवनमा बिताएका उनलाई सहयोग मिल्न छोड्यो । त्यसैले आफू मधुवनबाट हिडेर कोहलपुर आइपुगेको विक बताउँछन् । लकडाउनका बीच बैशाख पहिलो साता उनी कोहलपुर आइपुगेका हुन् । पहिला पनि केही समय कोहलपुरमा बसेका उनी मधुवनबाट आएपछि सिधै प्रतिक्षालयमा बसिरहेको बताउँछन् । यहाँको उनको दैनिकी निकै दयनीय अवस्थामा बितिरहेको छ । प्रतिक्षालयमा छत त बनाइएको छ तर उनलाई राम्रो ओत लाग्नको लागि भरपर्दाे विकल्प छैन । दैनिक सयौं मानिसहरुको आवातजावत हुने चौराहा क्षेत्र । नजिकै छ प्रतिक्षालय । केही थान, कपडाका झोला, कपडा, भाडाकुडी छन् ।
सुत्नको लागि प्रतिक्षालयको पेटी छ । कसैले सहयोग गरे खान्छन्, नगरे भोकै बस्छन् । बायाँ खुट्टामा दुई ठाउँमा फलामका रड राखिएका छन् । शरिर भरी घाउ नै घाउ छन् । कहिलेकाही मात्रै पिएर गुजारा गर्नु परेको छ । कोहलपुरको चौराहा नजिकै रहेको प्रतिक्षालयमा बसिरहेका हालको अवस्था कहाली लाग्दो छ । केही समय अघि सुतीरहेको बेला गोरु आएमा पिठ्युमा हानेपछि निकै समस्या भएको उनले बताए । ‘औषधि कहाँबाट गर्नु आफै त मागेर खाने मान्छे । न त बस्न घर छ न त सरकारको भर छ ।’
मिसन टुडे दैनिकसँग उनले भने । अपांगता समेत भएका तथा सरकारको नियम अनुसार साठी कटेपछि बृद्ध भत्ता पाउने उमेरमा उनी मागेरै जीवन गुजारा गरिरहेका छन् । अहिले उनले बाटोमा देख्ने व्यक्तिहरु कसैले रुपैयाँ, त कसै फलफूल दिन्छन् । त्यसैले जिन्दगी चलिरहेको उनले बताए । आफूहरुलाई नजिकै रहेका प्रहरी र चौराहामा तरकारी बेच्नेहरुले फलफूल सहयोग गरिरहेको विकले जानकारी दिए । तीन महिनायता बेवारिसे अवस्थामा बसिरहेका उनको उद्धारको लागि सरोकारवाला पक्षको ध्यान जान भने सकेको छैन । कोहलपुर नगरपालिका सहयोगापेक्षी सडक मानव मुक्त नगरपालिका समेत हो । तर यहाँ उनी जस्ता धेरै मानिस मागेर जीवनयापन गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्