कोहलपुर :
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रको सम्पूर्ण शैक्षिक गतिविधि समेटिएको कोहलपुर शैक्षिक झलक बिमोचन गरिएको छ । कोहलपुर नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको शैक्षिक झलक बिमोचन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उक्त शैक्षिक झलक बिमोचन गरे ।
सोही कार्यक्रममा शैक्षिक झलकसँगै,शैक्षिक स्थितिको ब्रोसर, शैक्षिक क्यालेन्डर तथा क्यास पोटफोलियो समेत बिमोचन गरिएको हो । बिमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले नगर शिक्षाले कोरोना कहरका बीच लकडाउन अवधिमा तयार पारेको झलक यहाँको शैक्षिक क्षेत्रको उपलब्धि भएको बताए । उनका अनुसार पहिलो पटक औपचारिक रुपमा विमोचन गरिएका सामग्रीले कोहलपुरको शैक्षिक झल्काउछ । ‘यो शाखाको पहिलो प्रयास हो, कोहलपुर क्षेत्रका शैक्षिक क्षेत्रका गतिविधि समेटिएको छ । यो राम्रो कार्य हो । आगामी दिनमा पनि निरन्तर दिनुपर्छ ।’ उनले भने ।
उक्त अवसरमा बोल्दै उप– प्रमुख सन्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकालाई शैक्षिक हब बनाउने नीतिमा यस्ता प्रकारका क्रियाकलापले भूमिका खेल्ने बताइन् । नगर शिक्षाले सुरु गर्ने हरेक राम्रा कार्यमा नगरपालिकाको पूर्ण साथ रहेको भन्दै पहिलो पटक शैक्षिक झलक प्रकाशनमा आएको भन्दै उनले खुसी प्रकट गरिन् । चौधरीका अनुसार पहिलो पटक झलक प्रकाशनमा आउनु सकारात्मक भएको भन्दै निरन्तरताको कामना गरिएको छ ।
यस्तै सामाजिक विकास शाखाकी प्रमुख तथा नगर कार्यपालिका सदस्य नारायणी वलीले विश्वभर कोरोना भाइरसका काराण भएको लकडाउनको समयमा तयार पारिएको उक्त झलक प्रतिकुलताका बीच अनुकुलता खोज्ने विकल्पको उपज भएको जानकारी दिइन् । कोहलपुर नगरपालिकाको शैक्षिक अवस्थाको विषयमा यस अघि नै शैक्षिक गुरु योजना बनेको भन्दै सोही गुरुयोजना अनुसार शैक्षिक नीति तथा कार्यक्रम तर्जुमा भइरहेको उनले बताइन् ।
उनका अनुसारका अनुसार शिक्षा शाखाले तयार पारेको शैक्षिक झलक कोहलपुरको शैक्षिक क्षेत्रको समग्र चित्रै जस्तै हो । उक्त शैक्षिब झलकको समिक्षा भने शिक्षक तथा साहित्यकार महानन्द ढकालले गरेका थिए । शैक्षिक झलक मात्रै समिक्षा गर्दै उनले शैक्षिक झलक प्रकाशनमा आउनु उपलब्धि भएको भन्दै वस्तुनिष्ठता र सत्यता र आवश्यकतामा आधारित नयाँ जमर्को भएकोमा जोड दिए ।
कुल ९९ पेजको उक्त झलकमा कोहलपुरको शैक्षिक क्षेत्रको बृहत जानकारी सहितका ४२ वटा विषयवस्तु समेटिएको छ । उक्त झलकमा कोहलपुर नगरपालिकाको संक्षिप्त परिचय ,जिल्ला मै पहिलो पटक साक्षर नगर घोषणम देखि शिक्षा शाखाले गरेका प्रयास र राम्रा कार्यहरु समेत समेटिएको छ ।
उक्त अवसरमा सम्पूर्ण प्रधानाध्यापकहरुको तर्फबाट एकदेव पन्थी, बागेश्वरी महुमुखी क्याम्पसका उप प्रध्यापक एकराज शर्मा र पेसागत संगठनहरुको प्रतिनिधित्व गर्दै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष रामप्रसाद चापागाईँले बोलेका थिए ।
उक्त अवसरमा नगर क्षेत्रका प्र.अ. विभिन्न संघ संगठनका प्रमुख, शिक्षा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । उक्त शैक्षिक झलकको लेखन तथा निर्देशन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौड्याले गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्