कोहलपुरको ४ को विवादित जग्गामा वडा कार्यालय भवनको शिलान्यास



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–४ स्थित सार्वजनिक जग्गामा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिका नाममा सारिएको भनिएको जग्गामा नगरपालिकाले वडा कार्यालय भवनको शिलान्यास गरेको छ । जिल्ला मालपोत कार्यालय बाँकेले गत असार २३ गते कोहलपुरको ४ नम्बर वडा कार्यालयलाई पत्राचार गरेर ४१ जनाबाट मालपोत असुल गर्न भनेपछि सार्वजनिक सम्पत्ति व्यक्तिका नाममा कायम भएको तथ्य फेला परेको थियो ।

सोही जग्गामा नगरपालिकाले एक कार्यक्रमका बीच वडा नम्बर ४ को कार्यालय भवनको शिलान्यास गरिएको हो । प्रहरीको सुरक्षा घेराका बीच कार्यालय भवनको शिलान्यास गरेको विवादित जग्गा २०६९ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोग बाँकेले ४१ जना नक्कली सुकुम्बासी खडा गरी कित्ता नम्बर ७६, ७७, ७८ र ७९ मा लालपुर्जा वितरण गरेको थियो । तत्कालिन रझैना गा.वि.स ३ मा पर्ने ४ विगाहा जग्गा कुनै पनि व्यक्तिको नभई सरकारी जग्गा भएको दाबी गर्दै कार्यालय भवनको शिलान्यास गरेको हो । मालपोत कार्यालयले पठाएको पत्रमा भएका नामहरु नक्कली भएको आंशका भएपछि स्थानीयले खोजिनिति गरेका थिए ।

त्यसको विषयमा विवाद भएपनि फेरी असार २८ गते फेरी भूलबस उक्त कार्य हुन गएकोले पछिल्लो पटक गरिएको पत्राचार कार्यान्वयन नगराउनु भनी फेरी नगरपालिकालाई मालपोतले पत्र काटेको थियो । भवन शिलान्यास कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उक्त जग्गा स्थानीय सरकारको मातहतमा रहने दाबी अनुसार नै भवन शिलान्यास गरिएको बताएका थिए । नगरपालिकाले यस अघि नै निर्णय गरेको र केही विवादका कारण प्रक्रियामा जान नसकेको उनले बताए । अहिले नगरपालिकाबाट वडा कार्यालय निर्माणको लागि ठेक्कापट्टा समेत भइसकेकोले स्थानीय सरकार मातहत कै जग्गा भएकोले कुनै पनि व्यक्तिको नाममा हुन नसक्ने उनले बताए । ‘जग्गा स्थानीय सरकार मातहतको जग्गा हो । कुनै व्यक्तिको नाममा हुन सक्दैन ।

आफू मातहत रहेका जग्गा उपभोग गर्न पाउने कानुनी अधिकारका आधारमा शिलान्यास भएको हो’ नगर प्रमुख रावतले भने । तर ठेकेदारले काम गर्न खोज्दा नक्कली लालपूर्जा लिएका व्यक्तिबाट अवरोध गरेको र नगरपालिका पनि नगर सभा लगायतका काममा व्यस्त भएकोले केही ढिलो भएको उनको भनाई रहेको थियो । वडा कार्यालय भवनको शिलान्यास गरिएको जग्गा त अहिले विवादित छ नी भन्ने प्रश्नमा नगर प्रमुख रावतले केही व्यक्तिले स्थानीय सरकारको जानकारी बिना लालपूर्जा लिएको उक्त कार्य बैधानिक नदेखिएकोले बहस भइरहेको भन्दै अहिलेलाई उक्त जग्गा विवादित भन्न मिल्ने बताए ।

उनले यो जग्गा कुनै अमुख व्यक्तिको नभई स्थानीय सरकार मातहतको भएको प्रतिक्रिया दिए । नेपाली काँग्रेसका महासमिति सदस्य नारायण प्रसाद गौडेलले सरकारी जग्गा संरक्षण गर्नु कोहलपुर नगरपालिकाको दायित्व रहेको बताएका थिए । विपन्नका नाममा पहुँचवाला व्यक्तिहरुले सार्वजनिक जग्गामा रजाइँ गरेको भन्दै उक्त निर्णय तत्काल खारेज गर्नको लागि पहल हुनु पर्ने उनको भनाई रहेको थियो । कोहलपुर वडा नम्बर ४ का अध्यक्ष तिरथराम थारुका अनुसार तीन वर्षदेखि भाडामा वडा कार्यालय सञ्चालन गरिरहेको भन्दै नगर कार्यपालिकाको निर्णय अनुसार वडा कार्यालय भवन निर्माण शुरु भएको बताए ।

कार्यालय भवन निर्माणको लागि कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०६७/०७७ मा कुल ५४ लाखमा ठेक्का सम्झौता गरिसकेको छ । आर्थिक वर्ष २०७७/०७८ को फागुन महिनासम्म सम्पन्न गरिसक्ने सम्झौता भएको छ । वडा कार्यालय निर्माणको ठेक्का पाएका पूर्ण निर्माण सेवाका नर बहादुर खड्काले यस अघि नै निर्माण कार्य शुरु गर्न खोज्दा नक्कली लालपूर्जा लिएका व्यक्तिहरुबाट अवरोध भएका कारण काम शुरु हुन नसकेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १ गते बिहीबार