सुदीप अधिकारी । बर्दिया ।
बर्दियाको खाता करिडोर क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड ब्रिज बन्ने भएको छ । राजमार्ग क्षेत्रमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको हो । बर्दियामा बन्ने यो ब्रिज नेपाल कै पहिलो बृहत योजना हो । प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा यो योजनाको डिपिआर तयार सम्पन्न भइसकेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार ओभरहेड ब्रिज निर्माण शुरु गर्नु पूर्व गरिने सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ ।
यो ब्रिजको गौमुखी इन्जिनियरिङ सर्भिस प्रा.लि.ललितपुरले यसको डिपीआर समेत तयार भइसकेको कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइ हुनेछ । योजना निमार्णका लागि करिब ९ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्यांकन सकिए लगत्तै आगामी आर्थिक वर्ष २०७७÷०७८ देखि निमार्ण कार्य शुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए । वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नविनतम् योजना भएको उनले बताए । खाता करिडोर क्षेत्र मधुवन नगरपालिकामा पर्दछ ।
हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिव साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ । खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघ लगाएतका संरक्षित वन्यजन्तुहरु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्ने गर्छन् । यो क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै निकै महत्वपूर्ण जैविक समेत मार्ग हो ।
खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोाषण गरेको छ । नेपालमा वन्यजन्तु ओहोरदोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । तर खाता करिडोर क्षेत्रमा बन्न लागेको यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको कार्यालय बर्दियाका प्रमुख वाग्लेको भनाई छ । २ वर्ष अघि जिल्लामा भएको जैविक मार्ग संरक्षणका सवाल र दिगो समाधानका उपाय सम्बन्धि अन्र्तक्रियामा प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले खाता करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनाउने प्रतिवद्धता जनाएका थिए ।










प्रतिक्रिया दिनुहोस्