घुस दिने शाही विरुद्ध मुद्दा दायर, अदालतमा बयान फेरेपछि घुस दिनेमाथि नै अनुसन्धान



कोहलपुर ।

सरकारी कार्यालयका प्रमुखलाई घुस दिने एक जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । कार्यालय प्रमुखलाई घुस रकम दिने बाँके कोहलपुर नगरपालिका २ का कमल बहादुर शाही विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीले तत्कालिन डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भक्तबहादुर लामालाई घुस बाफत चार लाख रुपैयाँ दिएका थिए ।

शाहीले आफुसँग चार लाख घुस मागेको भन्दै वन अधिकृत लामाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सूचना दिएका थिए । सोही उजुरीको आधारमा शाहीले दिएको चार लाख घुस रकमसहित अख्तियार सुर्खेतको टोलीले लामालाई रंगेहात नियन्त्रणमा लिएको थियो ।लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले साक्षिको रुपमा घुस रकम दिने शाहीलाई राखेको थियो । आफै घुस रकम दिएका उनले विशेष अदालतमा भने आरोपित लामाको बचाउ गर्दै बयान फेरेका थिए ।

त्यहाँ लामाले घुस मागेको रिसमा फसाउनको लागि मुद्दा दर्ता गरेको भन्दै शाहीले बयान फेरेका हुन् । बयान फेरिएपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानमा शाही दोषी देखिएपछि उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ । सरकारी कर्मचारीलाई घुस दिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले असार १६ गते विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

घुस दिने शाही विरुद्ध अख्तियारले चार लाख रुपैयाँ विगो दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालय प्रमुख लामा विरुद्ध विशेष अदालतमा दायर गरिएको भ्रष्टाचार गरेको कसुर मुद्दामा प्रतिकूल वकपत्र गरी असहयोग गरेको पुष्टि भएकोले शाहीलाई समेत मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय हुने मागदाबीसहित शाही विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । कार्यालय प्रमुख लामाले काठ दाउराको छोड पुर्जीको म्याद थप गरिदिने भनेर शाहीसँग चार लाख लिदालिदैं २०७६ असार २७ गते पक्राउ परेका थिए ।

घुस लिने उनी भने अहिले निलम्बित छन् । ‘कार्यालय प्रमुख लामा विरुद्ध शाहीले दिएको लिखित उजुरी निवेदन, निजले गरेको कागजसमेतको आधारमा अनुसन्धानमा सहयोग गरेकोले सजायको मागदाबीमा पूर्ण छुट दिने गरी आरोपपत्र दायर गरिएको थियो’ जारी विज्ञप्तिमा भनिएको छ, ‘शाहीले अदालतमा प्रतिकूल वकपत्र गरी असहयोग गरेको पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (३) द्वारा परिभाषित कसुर अपराध गरेको देखिंदा निज कमल बहादुर शाहीलाई बिगो रु. ४,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय हुन मागदाबी लिई आरोप–पत्र दायर गरिएको छ ।’

अख्तियारले लामा विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सोही मुद्दामा विशेष अदालतमा आफ्नो बयान फेरेपछि छानविन गर्दा दोषी देखिएकाले शाही विरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २४ गते बुधबार